सल्यान, ८ मंसिर ।
सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ६ ढाकाडामका राजेश बस्नेत उपचारको लागि जिल्ला अस्पताल सल्यानमा आउदैँ हुनुहुन्थ्यो । घरदेखी श्रीनगरसम्म बसमा यात्रा गर्नुभएका उहाँलाई श्रीनगरबाट खलंगा पुग्न अटो चढ्नुपर्ने भयो । अटो चढ्ने बेलामा निःशुल्कै लिदिन्छन् जस्तो अटो व्यवसायीले गरे । तर श्रीनगर देखी जिल्ला अस्पतालसम्म अटो चढेको एक सय रुपैँया भाडा तिरेकोमा उहाँ दुःखी हुनुहुन्छ । ‘अटोको भाडा यति महंगो होला भन्ने सोचेको थिएन, आर्थिक व्ययभार कम पर्छ भनेर जिल्ला अस्पतालमा आउने तर अटो भाडाले झन् महंगो बनायो’ उहाँले गुणासो गर्नभयो ।
शारदा नगरपालिका वडा नम्बर ७ कजेरीका मेघराज रेउलेको पिडा पनि उस्तै छ । श्रीनगरबाट जिल्ला अस्पताल पुग्नुपर्ने भएपछि उहाँ अटो चढ्नुभयो । तर श्रीनगर देखी अस्पतालसम्म यात्रा गर्नुभएका उहाँले सदरमुकाम खलंगासम्मैको भाडा तिर्नुभयो । ५ किलोमिटर दूरीका लागि पनि सदरमुकाम सम्मको दुरी ९ किलोमिटर बराबरको भाडा तिर्नुपर्दा उहाँ असन्तुष्ट हुनुहुन्छ । ‘यस्तो जात्तिबित्ति महंगो रहिछ, भनेको बेलामा बस नपाइने भयो, अटोले लुट्न सम्म लुटेको छ’ उहाँले भन्नुभयो ।
जिल्लाका अधिकांस क्षेत्रमा अहिले अटोहरु संचालनमा छन् । विशेष गरेर जिल्लाको प्रमुख व्यापारीक केन्द्र श्रीनगरसंगै खलंगा, थारमारे, लुहाम, सल्लीबजारमा सयौंको संख्यामा अटोहरु दैनिक गुड्छन् । नागरिकको चाप धेरै हुने भएकाले श्रीनगर देखी सदरमुकाम खलंगा र सल्यान अस्पताल सम्म पुग्ने नागरिकहरुले बढी मात्रामा अटो प्रयोग गर्छन् । बस, ट्याक्सी लगाएतका ठुला सवारी साधन कम आवतजावत हुनेभएकाले उनीहरु अटोमा यात्रा गर्छन् ।
ग्रामिण भेगका नागरिकको लागि अटोले धेरै सहजता वनाएपनि क्षमता भन्दा बढी यात्रु राखेर ओसारपसार गर्दा दुर्घटनाको जोखिम बढेको शारदा नगरपालिका वडा नम्बर ३ का अनिल भण्डारीको भनाई छ । भाडा समायोजन नहुदा अटो व्यवसायीले आफु खुसी भाडा निर्धारण गरेर लिदा यात्रु ठगिने गरेको उहाँले बताउनुभयो । बिशेष गरेर जिल्लाको सदरमुकाम खलंगा र प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा साम्राज्य जमाएर चल्ने अटोमा मनपरी छ । ‘अटो व्यवसायीको पठ्यार लाग्दो बोली, चर्को भाडा असुल र क्षमता भन्दा बढी यात्रु राख्दा यात्रुले हैरानी खेप्नु परेको छ’ उहाँले भन्नुभयो ।
अटो व्यवसायीहरू भने अटो प्रालिले भनेअनुसारको भाडा उठाईरहेको बताउँछन् । बढ्दो इन्धन मूल्यसंगै अन्य खर्चको कारण भाडा समायोजन गर्नुपर्ने एक अटो चालक प्रकाश चन्दले बताउनुभयो । ‘हामीले प्रालिले भने अनुसारको भाडा लिएका छौँ, श्रीनगरबाट अस्पतालका मान्छे राख्यो भने खाली खाली खलंगा उक्लनुपर्छ, त्यसैले पनि भाडा खलंगा सम्मैको लिने गरेको पाईको छ’ उहाँले भन्नुभयो ‘मंहगी बढेकाले पनि भाडा महंगो भएको हो ।’
शारदा नगरपालिकामा आरएस यातायात प्रालि र शिव गुफा याताया प्रालि मार्फत करिब ७० अटो संचालनमा छन् । जिल्ला प्रशासन कार्यालयमा २ बर्षअघि भाडा समायोजन गर्दा श्रीनगर देखी खलंगासम्म प्रति यात्रु एक सय रुपैँया र श्रीनगर देखी जिल्ला अस्पतालसम्म ५० रुपैँया निर्धारण गरिएको थियो । शिव गुफा यातायात प्रालिका सचिव धर्मराज योगीले मनोमानी रुपमा चलेका अटो व्यवसायीकै कारण निर्धारित भाडादर कायम गर्न नसकिएको बताउनुभयो ।
मनपरी रुपमा अटो सञ्चालन भैरहेको बारेमा शारदा नगरपालिका जानकार छ । नगरपालिकाभित्र सञ्चालित अटोको भाडादर कायम गर्ने र सिट क्षमताको निगरानी तथा अनुगमण गर्ने नगरपालिकाको योजना छ । साही अनुसार नगरपालिकामा अहिले करिब ५० वटा अटो रुटपरमिट र नविरकणका लागि दर्ता प्रक्रियामा आएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले ऐन बनाएरै कामको थालनी गरेको छ ।
‘नगरपालिकाले तीन चरणमा काम गर्छ, पहिलो चरणमा अटोको दर्ता प्रक्रिया सुरु भएको छ, अव हरेक बर्ष दर्ता भएका अटोको नविकरण हुने छ, दोस्रो चरणमा अटोहरु कहाँ कहाँ चल्न पाउने भनेर रुट परिमिट निर्धारण हुने छ, र अटोको भाडादरमा एकरुपता ल्याउन भाडादर निर्धारण हुने छ, अन्तिममा चाही भाडादर कायम भए नभएको, सिट क्षमता भन्दा बढी यात्रु राखे नराखेको अनुगमण तथा निरिक्षण हुने छ’ उहाँले भन्नुभयो ‘नागरिकका थुपै्र गुणासो आएका छन्, मंसिरभित्रमा ती सबै गुणासोको सम्बोधन गर्ने र यात्रुलाई सहज यात्रा गर्ने बातावरण सिर्जना गर्दैछौँ ।’