सल्यान, २२ मंसिर ।
सडकको ट्र्याक खुलेको करिब २४ बर्ष हुदाँ पनि सडकको स्तरोन्नति नभएको भन्दै नागरिकले खबरदारी गरेका छन् । जिल्लाको शारदा नगरपालिका–४ साहुटोल देखी वडा नम्बर ६ बरला जोड्ने सडक २०५८ सालमा ट्र्याक खोलिएको थियो । यो सडक राप्ती राजमार्गबाट सुर्खेत जान छोटो दुरी पर्छ । साहुटोल–खलंगा–श्रीनगर हुदै बरला जाने सडक करिब १५ किलोमिटर भएपनि साहुटोलबाट बरला पुग्न ७ किलोमिटर मात्रै पर्छ ।
स्थानिय युवा अनिल भण्डारीले सडकको ट्र्याक खुलेको दुई दशक बढी हुदा पनि स्तरोन्नति नहुदा समस्या भएको बताउनुभयो । सडकको स्तरोन्नति सँगै विस्तारमा कुनै पनि निकायले ध्यान नदिएपछि साहुटोल बरला सडक खण्डलाई नागरिकमैत्री बनाउनको निमित्त साझा दबाबमुलक अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । ‘त्यो बेला सडक खनेकाले चामल लिन्थे रे, त्यसरी खनेको सडक कसैले वास्ता नगर्दा आज मोटर साइकल समेत चलाउन धौ भएको छ, यो दुरीका हिसावले पनि छोटो पर्छ तर राज्यको सधै अपेक्षामा परेकाले सडक बनाउन दवाव दिनकै लागि अभियान चलाइएको हो’ उहाँले भन्नुभयो ।
अर्का स्थानिय युवा दुर्गा बिष्टले सहज यात्राका लागि नागरिकले आफ्नै खेतबारी, वन फाँडेर सडक बनाउन दिएपनि बेकामे सडक बन्दा समस्या भएको बताउनुभयो । उहाँले सडकको नाला निर्माण सहित चौडा बनाउनु पर्ने र बाह्रै महिना गाडी चल्न सक्ने सडक हुनुपर्ने माग गर्नुभयो । अर्का स्थानिय टोपेन्द्र वलीले सहज यात्रा त परेको कुरा हो, मान्छे मरेको बेला घाट सम्मै पुग्ने यही सडक राम्रो नहुदा धेरै दुःख पाएइको बताउनुभयो । राप्ती राजमार्गबाट सदरमुकाम जोड्ने, वजार जाने, धान पराल बोक्ने, मलामी जाने सडक यही भएपनि स्तरोन्नति नभएको उहाँको भनाइ छ ।
शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले साहुटोल बरला सडकको स्तरोन्नतिका लागि नगरपालिकाले बिशेष काम गर्ने बताउनुभएको छ । नागरिकले सोधेका प्रश्न र जिज्ञासाको जवाफ दिदैँ उहाँले यस सडकको स्तरोन्नतिका लागि तत्कालै आईई गर्ने र उचित वजेटको प्रवन्ध गर्ने बताउनुभएको हो । सडकको स्तरोन्नति गरि नागरिकलाई सहज आवातजावत गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ ।