सल्यानमा १७ औं राष्ट्रिय निर्माण दिवस : निर्माण क्षेत्र बिना मुलुकको विकास र समृद्धि असम्भव रहेकोमा जोड

सल्यान, २३ मंसिर ।

निर्माण क्षेत्र बिना मुलुकको विकास र समृद्धि असम्भव भएको सल्यानका सरोकारवालाले बताएका छन् । निर्माण क्षेत्र आफैमा जोखिमयुक्त भएपनि यसले सही र समयमै काम गरेमा विकास र समृद्धि हासिल गर्न सकिने उनीहरुले बताएका हुन् । निर्माणबाट समृद्धि भन्ने नाराका १७ औं राष्ट्रिय निर्माण दिवसका अवसरमा निर्माण व्यवसायी संघ सल्यानले शनिवार खलंगामा गरेको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले निर्माण क्षेत्र आफैमा जोखिमपुर्ण क्षेत्र भएकाले संयम् भएर काम गर्नुपर्ने बताउनुभयो । समयमै काम सम्पन्न गर्नेहरुलाई राज्यले प्रोत्साहनका काम समेत गरेको बताउँदै उहाँले भन्नुभयो ‘सचेत भएर काम गर्न जरुरत छ, फेरि तोकिएको काम गर्नै पर्ने हुन्छ, निर्माण सामाग्रीको अभाव बारेमा देशभरमा समस्या देखिएको छ, यसलाई सहज वनाउन हामीले पहल गरिरहेका छौँ ।’

नेपाल निर्माण व्यवसायी संघका कर्णाली प्रदेश कमिटी सदस्य मनोज सिंहले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन आवश्यक रहेको बताउनुभयो । लगानीको राज्यले रक्षा गर्न नसक्दा कयौं निर्माण व्यवसायी मारमा परेको भन्दै उहाँले व्यवसायीकै परिवार भोकभोकै मर्ने बेला आएको दुखेसो गर्नुभयो । ‘कुनै न कुनै हिसाबले राज्यबाट नै निर्माण व्यवसायी मारमा परेका छन्, होलान् कोहि व्यवसायीले तोकेको समयमै काम नगरेका होलान् तर यहाँ त काम गरेको भुक्तानी समेत महिनौं सम्म नपाउने अवस्था छ, त्यसबाट व्यवसायीले ठुलो क्षति बेहोरेका छन्’ उहाँले भन्नुभयो ।

यस्तै पुर्वाधार विकास कार्यालय सल्यानका इन्जिनियर भरत प्रसाद शर्माले निर्माण व्यवसायीले समयमै काम नगर्दा बिकास निर्माणका कयौं काम रोकिएको बताउदै तोकिएको समयमा काम गर्न सुझाव दिनुभयो । उहाँले एकैपटकमा धेरै काम लिने तर म्याद थप हुदा पनि काम नसक्ने परिपाटी रहेकाले यसलाई रोक्न र समयमै सक्ने गरि काम गर्न आग्रह गर्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष शिब डाँगीले निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न नसक्दा त्यसको असर आमनागरिकमा पर्ने भएकाले सम्झौता बमोजिम नै काम गर्न सुझाव दिनुभयो । यो वा त्यो बहानामा कोहि व्यवसायीले पनि सम्झौता बमोजिम काम गर्नमा खेलाची गर्न नहुने उहाँको भनाइ छ ।

यस्तै निर्माण व्यवसायी लक्ष्मण हमालले निर्माण क्षेत्रमा सिमित लगानीका बाबजुद पनि धेरै काम गर्नुपर्दा समस्या भएको बताउनुभयो । लगानीको सुनिश्चितता नहुनु र निर्माण सामाग्रीको मुल्य बढ्दै जादा थप समस्या थपिएको उहाँको भनाइ छ । दिवसका अवसरमा लामो समय देखि अवस्थ हुनुभएका शारदा नगरपालिका–२ वस्ने मिस्री डिल्ली बहादुर बिकलाई ५ हजार सहयोग गरिएको छ ।

निर्माण व्यवसायी संघ सल्यानका प्रथम उपाध्यक्ष डम्बर सिंह तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी संघ कर्णाली प्रदेशका पुर्वमहासचिव डिल्ली प्रकाश केसीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन केन्द्रिय प्रतिनिधि धिरज रावतले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित