भूकम्प पछिका एक वर्ष : सल्यानका पीडितको अझै टहरामा बास !

‘करिब २ महिना त त्रिपालमा बसिम, पछि ऋण खोजेर अस्थायी टहरा बनाइम, त्यो बेला सरकारले आवास निर्माणका लागि भनेर ५० हजार दिने भनेको थियो, २५ हजार रुपैँया पाइम, तर बाँकी अझै पाएको छैनौँ’ उहाँले भन्नुभयो ‘त्यो बेलाकै अनुदान त दिएको छैन्, पुर्ननिर्माण झन् कहिले पो होला र ?’

सल्यान, २३ मंसिर ।

सल्यानको दार्मा गाउँपालिका–५ भालुखोलाकी नविन्द्रा खड्का भुकम्प जादा तीन महिनाकी सुत्केरी हुनुहुन्थ्यो । भुकम्प जादा दूधेबच्चा सँगै सुरक्षित हुनुभयो तर उहाँ बस्ने घर भने सुरक्षित हुन सकेन् । सुत्केरी भएको तीन महिनादेखी नै टहरामा बस्नु थाल्नुभएकी उहाँ भुकम्प गएको एक बर्षसम्म पनि टहरामै हुनुहुन्छ । टहराकै बसाई उहाँको लागि कष्टकर छ ।

‘हाम्रो बास टहरामै हुन्छ, चिसोले गर्दा हैरान भएको छ, भुकम्पका कारण दुख धेरै पाइयो, भुकम्प पछि घरको त नाम मात्रै बाँकी छ’ भत्किएको घर देखाउदै उहाँले भन्नुभयो ‘घर हुदा सबैथोक भएझै लाग्थ्यो, आजभोली त शुन्य जस्तै भएको छ, हिउँद होस् या बर्खा टहरामै बस्नुपर्दा चाडपर्व आएको पनि महशुस भएन्, कहिलेसम्म टहरामा बस्ने भन्ने पनि अझै टुंगो छैन् ।’

भालुखोलाकै पुस्पा केसी पनि भुकम्प जादा ३ महिनाको सुत्केरी हुनुहुन्थ्यो । बस्ने घर नै भुकम्पले भत्काएपछि उहाँले पनि कस्ता दुःख पाउनु भएन् । घर भत्किएपछि झण्डै तीन महिना उहाँले टेण्टमै दिनरात बिताउनुभयो । भुकम्प पीडितहरू हालसम्म पनि उचित राहत र पुनर्निर्माणको अभावमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । भूकम्पको लगत्तै पाल, त्रिपाल र केही खाद्यान्न वितरण गरिएको भएपनि स्थायी बसोबासको व्यवस्था नहुँदा समस्या झनै गहिरिएको हो ।

सरकारले अस्थायी टहरा निर्माणका लागि २५ हजार रुपैँया दियो । टहरा निर्माण गरेको महिनौ बित्दा पनि अझै दोस्रो किस्ता उहाँको हातमा परेको छैन् । ‘करिब २ महिना त त्रिपालमा बसिम, पछि ऋण खोजेर अस्थायी टहरा बनाइम, त्यो बेला सरकारले आवास निर्माणका लागि भनेर ५० हजार दिने भनेको थियो, २५ हजार रुपैँया पाइम, तर बाँकी अझै पाएको छैनौँ’ उहाँले भन्नुभयो ‘त्यो बेलाकै अनुदान त दिएको छैन्, पुर्ननिर्माण झन् कहिले पो होला र ?’

भुकम्पपछि गाउँमा चर्किएका र बस्नै जोखिम भएका सबै घर भत्काइए । त्यो बेला घर नभत्काए पुर्ननिर्माणमा सहभागि हुन नपाउने र अस्थायी आवास निर्माणका लागि अनुदान समेत नपाउने कुरा चल्यो । जोखिमपुर्ण घरको पुर्ननिर्माण हुने र सुरक्षितसाथ नयाँघरमा बस्ने सपना देखेका भुकम्प प्रभावित अहिले थप पिरमा छन् । घर भत्किएपछि खाने, बस्ने मात्रै होइन्, स्वास्थ्यमा समेत समस्या देखिएको स्थानिय झुलि खड्का बताउनुहुन्छ ।

‘अघिल्लो पुस सम्म त्रिपालमा बसिम, त्यसपछि २ महिना बाख्रा खोरमा बसिम, अहिले अस्थायी टहरामा छम्, भत्किएको गोठमा बस्तुभाउ राख्दै आएका छौँ, भुकम्पले हाम्रो विजोग बनाएको छ’ उहाँले भन्नुभयो ‘घरमा बिरामी नभएको कोही छैन्, हातखुट्टा सुनिने, ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या सधै भैरहन्छ, यो चिसोमा टहराको बसाई कस्तो हुन्छ भन्ने हामीलाई मात्रै थाहा छ, तर सरकारले भने हाम्रो लागि केही गर्न सकेन् ।’

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर गएको शक्तिशाली भूकम्पले सल्यानका ४ हजार ४ सय भन्दा बढी घर ध्वस्त भए । अहिले भूकम्प गएको एक वर्ष पूरा भइसक्दा पनि यहाँका धेरै पीडित परिवार अस्थायी टहरामै बस्न बाध्य छन् । चिसो हावा चल्ने र जस्तापाताबाट सित चुहिइदा यो जाडोयाममा उनीहरूको दैनिकी निकै कठिन छ ।

भुकम्पका कारण जिल्लाको दार्मा गाउँपालिकामा ४ हजार ८० घर, कुमाख गाउँपालिकामा १६७ घर, बागचौर नगरपालिकामा १५४ घर र त्रिबेणी गाउँपालिकामा १६ घरमा क्षति भयो । सबैभन्दा धेरै प्रभावित भएको दार्मा गाउँपालिकाका भुकम्प प्रभावित भने अझै अस्थायी हटरा निर्माणको लागि सरकारले दिने अनुदानको पखाईमा छन् । स्थानीय सरकारले केन्द्र सरकारसँग समन्वय गरी पुनर्निर्माणको प्रक्रिया सुरु गर्ने बताएको भए पनि ठोस काम भने देखिएको छैन । भूकम्प पीडितहरूले सरकारले स्थायी आवास निर्माणका लागि तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् ।

दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले भुकम्प प्रभावितको क्षेत्रमा पालिकाले बिशेषरुपमा काम गरिरहेको बताउनुभयो । उहाँले संघीय सरकारसँग समन्वय गरेर पुर्ननिर्माणको काम अगाडी बढाउन प्रयत्न गरिरहेको बताउनुभयो । ‘प्रभावितलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउन काम गरिरहेका छौँ, स्वास्थ्य जाँच लगाएका काम पनि गरेका छौँ, भुकम्प प्रभावित ८ सय परिवारलाई ४० दिनको रोजगारी दिएका छौँ, करिब एक हजार परिवारलाई रोजगारी दिने हाम्रो लक्ष्य छ’ उहाँले भन्नुभयो ।

भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० बमोजिम संघीय सरकारले जिल्लामा अस्थायी आवास निर्माणका ७ करोड रुपैँया पठाएको थियो । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जिल्लाका करिब २ हजार ७ सय प्रभावितले पहिलो किस्ता बाफतको २५ हजार रुपैँया पाएका छन् भने दोस्रो किस्ताको पर्खाईमा छन् । यस्तै करिब १ हजार ७ सय प्रभावित अझै पहिलो किस्ताकै पर्खाईमा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले स्थानिय तहले आवश्यक प्रक्रिया पुरा गर्न ढिलाई गर्दा प्रभावितलाई थप अनुदान उपलब्ध गराउन समस्या भएको बताउनुभएको छ । ‘सुरुवातमा भुकम्प प्रभावितको विवरण स्थानिय तहबाट आयो, सोही अनुसार केन्द्रबाट ७ करोड रुपैँया जिल्लामा आएको थियो, त्यसले पहिलो किस्ता सबै प्रभावितले पाए, तर पछि पालिकाले लाभग्राही बढेको भनेर थप सिफारिस गरे, त्यो बेलाको रकमले पुगेन्, झण्डै १७ सय प्रभावितले अझै पहिलो किस्ता पाउन सकेका छैन््’ उहाँले भन्नुभयो ‘दोस्रो किस्ता पाउनका लागि पालिकाले आवश्यक कागजात वनाएर पठाएपछि हामीले केन्द्रमा समन्वय गर्ने हो, केही समयपछि दोस्रो किस्ता आउँछ भन्ने हाम्रो बुझाइ छ ।’

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित