सल्यानका सरोकारवाला भन्छन् : ‘रेमीट्यान्स भित्र्याउनु भन्दा जोगाउनु चुनौती’

सल्यान, ४ पुस ।
सल्यानका सरोकारवालाले विदेशमा श्रम गरेर रेमीट्यान्स भित्र्याउनु भन्दा जोगाउनु अहिलेको प्रमुख चुनौती भएको बताएका छन् । उनीहरुले विभिन्न देशबाट उल्लेख्य मात्रामा रेमीट्यान्स भित्रिने गरेपनि आयमुलक काममा लगानी गर्ने व्यवस्था नहुँदा अनुत्पादक बनिरहेको बताएका हुन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२४ का अवसरमा जिल्लाको शारदा नगरपालिका–६ बरलामा आयोजित सुरक्षित वैदेशिक रोजगारीका लागी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

शारदा नगरपालिकाको आयोजना तथा सामी कार्यक्रम, सीएमसी नेपाल र फेल्म नेपालको समन्वयमा भएको कार्यक्रममा उनीहरुले वैदेशिक रोजगारले कतिपय स्थानीयको आर्थिक अवस्थामा सुधार गरेको मात्र नभई समस्या पनि सिर्जना गरेको चर्चा गरेका छन् । शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले वैदेशिक रोजगारीमा पुरुष जादा घरमा बस्ने महिलालाई सोच्ने र हेर्ने दृष्टिकोण नितान्त फरक रहेकाले सोचाइमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले पसिना बगाएर आर्जन गरेको रेमीट्यान्सलाई बचत गरेर उत्पादनमुलक काममा लगानी गर्नु झन् महत्वपूर्ण विषय भएको बताउनुभयो । यदाकदा गाउँमा बस्ने र परिश्रम गरेर जीवननिर्वाह गर्ने परिपाटी हराउदै गएको भन्दै उहाँले परदेशमा पति र घरदेशमा पत्नीले असल काम गर्न सकेमा भबिष्य उज्ज्वल बन्ने बताउनुभयो । ‘श्रम गरेर धन पाउनु महत्वपूर्ण कुरा हो, त्यसलाई जोगाउनु झन् महत्वपूर्ण कुरा हो, रेमिट्यान्स बचाएर स्वदेशमै सम्भावना खोज्ने हो’ उहाँले भन्नुभयो ‘जिन्दगीभर परदेश बस्नु पर्दैन, उता कमाएको पैसाले यता लगानी गर्न सकिन्छ ।’

शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले वैदेशिक रोजगारीमा कमाएको आम्दानीलाई कसरी जीवन्त राख्ने भन्ने नै मुख्य चुनौती भएकाले खर्च होइन बचत गर्ने बानीको बिकास गर्नुपर्ने बताउनुभयो । अहिलेको बचत भबिष्यको सहारा भएको बताउदै उहाँले बित्तीय साक्षरता सम्बन्धि ज्ञान लिएर पैसाको बचत गर्ने बानी बसाउनुपर्ने बताउनुभयो । सामी कार्यक्रमका कार्यक्रम अधिकृत बिमल गौतमले वैदेशिक रोजगारीबाट आर्जन गरेको झन्डै ७२ प्रतिशत रकम दैनिक उपभोगमा मात्रै खर्च हुने गरेकाले घरायसी खर्च कटाएर बचत गर्नुपर्ने बताउनुभयो ।

शारदा नगरपालिका, नगरकार्यपालिका सदस्य पुस्पा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सामी परियोजनाका फोकल प्रसन चन्द्र शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका सचिब बुद्धि पुन लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता मिना बुढाथोकीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस