विदेशबाट फर्किए सुन्तला खेती : ‘अहिले आम्दानी पनि, भविष्यमा पेन्सन पनि’

विदेश जानेहरुको सङ्ख्या सरकारको योजना मुताबिक घट्न सकेको छैन । तर विदेशबाट फर्किएर खेतिपातीमा रमाईरहेका र प्रशस्तै आम्दानी गरिरहेकाहरु पनि गाउँमा भेटिन्छन् । बर्षौ विदेशमा बिताई आफ्नो जन्मभूमी फर्केर सुन्तला खेती थालेपछि उनीहरुले अहिले आम्दानी मात्रै गरेका छैन्न्, भबिष्यको लागि पेन्सन आउने ढोका पनि खोलेका छन् ।

Pic : Yog Raj Bishowkarma

सल्यान, १४ पुस ।

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ चौरपानीका दिपेन्द्रप्रकाश कवर २०५० सालअघि भारतमा मजदुरी गर्नुहुन्थ्यो । भारतमा लटरम्म स्याउ फलेको देखेपछि उहाँले २०५१ सालमा घर फर्केर मकैगहुँ रोप्ने बारीमा ५ सय ४६ बोट सुन्तला रोप्नुभयो । त्यतिबेला उहाँका बुवाले अन्नखाने बारीमा किन सुन्तला रोपेको भनेर आधाभन्दा बढी बोट उखेलेरै फालिदिनुभयो । तर पनि उहाँले आफ्ना अनुभव र सीपलाई प्रयोग गर्दै सुन्तला खेतीमा न्यानो सन्देश दिन थाल्नुभयो । विदेशी कृषिका अनुभव तथा नेपालको उपयुक्त मौसम र माटोको सही मिलनले केहि बर्षमै उहाँले सुन्तला खेतीबाट जबरजस्त फाइदा लिनथाल्नुभयो ।

सुन्तला खेतीबाटै गएको सिजनमा १५ लाख बढी आम्दानी गरेको उहाँको भनाइ छ । ‘त्यो बेला रोपेका सबै सुन्तलाका बोट रहन्थे भने यो बेलामा मैले ३५ लाख बढी आम्दानी गर्थे, तर पनि अहिले मसँग एक हजार बोट सुन्तला छ, यो बर्ष २३ लाख आम्दानी हुन्छ भन्ने आँकलन गरेको छु, माघ १५ अघि मैले सुन्तला बेच्दिन, जव सबै क्षेत्रको सुन्तला सकिन्छ, अनि मात्रै मैले बेच्ने हो, चिसो ठाउँ भएकाले सुन्तला मध्यमाघ सम्म पनि केही हुदैन्’ उहाँले उहाँ भन्नुहुन्छ ‘सुन्तला बेचेरै छोरालाई ईन्जिनिएर पढाए, पैसाका लागि काम खोज्दै हिड्नु परेको छैन् ।’

कपुरकोट गाउँपालिका–४ खसटोलका युवराज रावत २०६० सालमा २० बोट सुन्तला रोपेर मलेसिया जानुभयो । राम्रो कमाई गर्ने सपना देखेर विदेशिनु भएका उहाँ लामोसमय परदेशमा टिप्न सक्नुभएन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचेर घर फर्कनुभएका उहाँले १८ रोपनी जग्गामा ५ सय बोट सुन्तला रोप्नुभयो । सुन्तला खेतीले आम्दानी मात्रै नभई राम्रो ज्ञान पनि प्राप्त भएको उहाँ बताउनुहुन्छ । ‘सुन्तलाको सम्भावना राम्रो छ, बजार नपाउला भन्ने छैन्, तर किसानमा जागर हुनुपर्छ, उत्पादन गर्नसक्नुपर्छ, बिक्री नभएर खेर फाल्नुपदैन्’ उहाँले भन्नुभयो ।

दिपेन्द्र र युवराज जस्तै चौरपानीका २७ बर्षिय शालिकराम कवर साउदीबाट फर्केर सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । २ बर्ष परदेशमा हण्टर खाएका उहाँले आफ्नै खेतबारीमा केही गर्नुपर्छ भन्ने सोचका साथ व्यावसायिक रुपमा ७ सय बोट सुन्तला खेती गर्दै आउनुभएको छ । सुन्तला खेतीमा गरिएको मेहनत र लगानी बुढेसकालको पेन्सन जस्तै भएको उहाँको बुझाइ छ । ‘बाउबाजेले उ बेला देखी नै सुन्तला खेती गर्दै आउनुभएको थियो, त्यो बेला घरमै खानका लागि थिए, अहिले आम्दानीका लागि गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।

‘म विदेशमा पनि बसेको आएको हुँ, परदेशमा कति दुख हुन्छ भन्ने भोग्नेले मात्रै थाहा पाउँछ, अव त विदेश जान्न भन्ने अठोटले सुन्तला खेतीमा लागेको छु, बर्षमा ९/१० लाख रुपैँया त घरैमा बसेर पनि कमाउन सकिन्छ, अहिले आम्दानी कम भएपनि भबिष्यमा थप आम्दानी होस् भनेर सुन्तलाको बगैँचा विस्तार गरेको छु, साना थुप्रै बोट लगाएको छु’ उहाँ भन्नुभयो ‘परिवारले राम्रो साथ दिएको छ, अहिले मेहनत गरिरहेको छु, भविष्यमा पेन्सन जसरी बर्षेनी लाखौँ आम्दानी गर्छु भन्ने सोच छ ।’

Pic : Shrawan Devkota

विदेशबाट फर्किएर सुन्तला खेती गर्नेलाई प्राथमिकतामा

गत आर्थिक वर्षमा देशभरबाट ७ लाख ४१ हजार जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । विदेश जानेहरुको सङ्ख्या सरकारको योजना मुताबिक घट्न सकेको छैन । तर विदेशबाट फर्किएर खेतिपातीमा रमाईरहेका र प्रशस्तै आम्दानी गरिरहेकाहरु पनि गाउँमा भेटिन्छन् । बर्षौ विदेशमा बिताई आफ्नो जन्मभूमी फर्केर सुन्तला खेती थालेपछि उनीहरुले अहिले आम्दानी मात्रै गरेका छैन्न्, भबिष्यको लागि पेन्सन आउने ढोका पनि खोलेका छन् ।

जिल्लाका प्रायः सबै क्षेत्रमा सुन्तला खेती गरिन्छ । यहाँको ९ सय ८० हेक्टर बढी क्षेत्रफलमा किसानले सुन्तला खेती गर्दै आएका छन् । बिदेशबाट फकिएर सुन्तला खेती गर्ने किसानलाई तालिम, अनुदान लगाएतमा प्राथामिकता दिने गरेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताउनुभयो । ‘सुन्तला बगैँचामा कृषक पाठशाला, नर्सरी स्रोतकेन्द्रमा सहयोग तथा बगैचा सुदृढिकरण, बाँझो जमिनमा खेती विस्तार, चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम, नयाँ किसानको लागि लागतमा ५० प्रतिशत अनुदानमा सुन्तलाका विरुवा उपलब्ध गराउदैँ आएका छौँ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा छनौट गर्दा विदेशबाट आएका तथा युवाकृषकलाई प्राथामिकता दिने गरेको उहाँको भनाइ छ । सल्यानका किसानले गएको सिजनमा ७ हजार ४८० मेट्रिक टन सुन्तला उत्पादन गरि २९ करोड ३४ लाख रुपैँया आम्दानी गरेका छन् । यस बर्षपनि जिल्लाको सुन्ता विक्री गर्न थालिएको छ । यसवर्ष सल्यानमा ८ हजार ६ सय मेट्रिकटन सुन्तला बिक्रीबाट ३५ करोड ५५ लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस