युवा प्रतिनिधित्व सुनिश्चित गर्दै युवा क्लब

१६ वर्षदेखि २९ वर्ष उमेर समूहका युवाहरूद्वारा गठन भएका यी क्लबहरूले विशेष गरेर स्वास्थ्य, जीविकोपार्जन, युवा तथा किशोर(किशोरीको नेतृत्व विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै आएका छन्।


सल्यान, १५ पुस ।

सल्यान जिल्लाअन्तर्गत शारदा नगरपालिकामा गठन गरिएका नगरस्तरीय युवा क्लबहरूले युवाका सवालमा आवाज उठाउन थालेका छन्। युवा नीति निर्माण गरी हरेक क्षेत्रमा युवा सहभागिता सुनिश्चित हुनुपर्ने माग गरिरहेका उनीहरूले युवाका सवालहरू उठाउँदै युवाकै प्रतिनिधित्व सुनिश्चित गर्न लागि परेका हुन्।

जिल्लाको शारदा नगरपालिकामा गठन भएका शारदा युवती क्लब र शारदा युवा युवती क्लबले युवाका सवाललाई प्राथमिकताका साथ उठाएका छन्। १६ वर्षदेखि २९ वर्ष उमेर समूहका युवाहरूद्वारा गठन भएका यी क्लबहरूले विशेष गरेर स्वास्थ्य, जीविकोपार्जन, युवा तथा किशोर(किशोरीको नेतृत्व विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै आएका छन्।

दलित विकास समाज सल्यानको स्थानीय व्यवस्थापनमा सञ्चालित युएसएआइडी किशोर(किशोरी प्रजनन स्वास्थ्य परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि यी क्लबहरूले सामाजिक उत्तरदायित्व, पारदर्शिता, जवाफदेहिताका साथै गुणस्तरीय स्वास्थ्य सेवामा सबै युवाको पहुँच बढाउन पैरवी गर्दै आएका हुन्।

शारदा युवा युवती क्लबका अध्यक्ष योगमाया रेउलेले स्वास्थ्य क्षेत्रमा युवा सहभागिता बढाउन र सेवालाई किशोर(किशोरी तथा युवामैत्री बनाउन स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिमा युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो। शारदा युवती क्लबकी अध्यक्ष अस्मिता बस्नेतले टोलदेखि वडा हुँदै पालिकामा हुने योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता बढाउन आफूहरूले काम गर्दै आएको बताउनुभयो।

युवाको उपस्थिति विना युवाका सवालहरू नसमेटिने भएकाले युवा क्लबहरूले युवाकै पक्षमा निरन्तर काम गर्दै आएको जनाएका छन्। हरेक क्षेत्रमा युवाको नेतृत्व स्थापित गर्न सबै युवा तयार भएर लाग्ने हालै सम्पन्न छैटौँ त्रैमासिक बैठकले निर्णयसमेत गरेको छ। अबका तीन महिनाको कार्ययोजना निर्माण गरी वडा देखि पालिकासम्म समन्वय र सहकार्य गर्दै सशक्त ढंगले ती सवाललाई सम्बोधन गराउन लागिपर्ने उनीहरूले निष्कर्ष निकालेका छन्।

बैठकको सहजीकरण एआरएच परियोजनाका गुणस्तर सुनिश्चित अफिसर सरस्वती ढकाल, मिल अफिसर तोरण बुढाथोकी, जेशि अफिसर महेश हिताङ, स्रोत व्यक्ति प्रकाश नेपाली, सहजकर्ता राधिका बुढाथोकी लगायतले गर्नुभएको थियो। जिल्लाको सदरमुकाम खलंगामा छुट्टाछुट्टै ठाउँमा सम्पन्न बैठकमा ६० भन्दा बढी युवाको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस