त्रिबेणी गाउँपालिका-४ का जेष्ठ नागरिकलाई मह !

सल्यान, ११ माघ ।

सल्यानको त्रिबेणी गाउँपालिकाका जेष्ठनागरिकलाई अर्गानिक मह वितरण गरिएको छ । त्रिबेणी गाउँपालिका वडा नम्बर ४ को बार्षिक कार्यक्रम अनुसार वडा भित्रका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई गाउँमै उत्पादन भएको अर्गानिक मह वितरण गरिएको छ ।  फलाबाङमा आयोजना गरिएको कार्यक्रममा वडा भित्रका ९० जना जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई एक/एक किलो महले सम्मान गरिएको हो ।

स्थानीयस्तरमा उत्पादन भएको महको प्रवद्र्धन र वजारीकरणमा सहयोग गर्नुका साथै जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई लाभदायी होस् भन्ने हेतुका साथ महले सम्मान गरिएको वडाअध्यक्ष छविराज शर्माले जानकारी दिनुभयो । ‘मह स्वास्थ्यका लागि आफैमा लाभदायी नै हुन्छ, यसमा पनि फलाबाङको गुडडाँडाका मौरीपालक किसान जीतबहादुर बुढाले उत्पादन गरेको मह वितरण गरेका हौँ, यो अर्गानिक मह हो, यसमा कुनै मिसावट छैन्’ उहाँले भन्नुभयो ‘जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई यसले फाइदा नै गर्छ ।’

महको वितरण गर्दा किसानसँगै सम्मानित हुने सबै खुसी भएको उहाँको भनाइ छ । विगत लामो समय देखी व्यावसायिक मौरीपालन गर्दै आउनुभएका जीतबहादुरसँग अहिले दुई सय घार मौरी छ । बर्षेनी करिब ७ क्वीन्टल मह उत्पादन हुने गरेको र आम्दानी पनि राम्रो भएको उहाँ बताउनुहुन्छ । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष रावतले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई गाउँपालिकाले सधैँ माया, सद्भाव र सम्मान गर्दै आएको बताउनुभयो । ‘तपाईहरु आफै पनि मह किनेर खान सक्नुहुन्छ, तर यो पालिकाले गरेको सम्मान हो, हामी सधैँ जेष्ठ नागरिकसँगै रहेर काम गर्दै आएका छौँ, जेष्ठ नागरिकसँग भएको ज्ञान, सिप र अनुभव आदानप्रदान गर्ने, सिकाईलाई निरन्तरता दिने हेतुका साथ अबको केही महिनामै गाउँपालिकास्तरको जेष्ठनागरिक सम्मेलन गर्दैछौँ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने, औषधिउपचार गर्ने, रेखदेख तथा हेरचाह गर्ने र उहाँहरुसँग भएको ज्ञान र सिपको नयाँ पिढीमा हस्तारन्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको बताउनुभयो । सम्मान कार्यक्रममा कार्यपालिका सदस्य पार्वती विक, वडा सदस्यहरु लोक बहादुर चलाउने, कुल बहादुर पुन, कविता बिक लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वडासचिव रमेश चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस