सल्यान, २२ माघ ।
सल्यानको शारदा नगरपालिका–२ का एक सय ६१ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । जसमा यही फागुन १ गते त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङमा र फागुन ४ गते ब्राइटपर्ल एकेडेमी शितलपाटीमा एचपिभी खोप लगाइने भएको हो । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि कक्षा ६ देखी १० सम्म अध्यन गर्ने किशोरीहरु र विद्यालय नजाने १० वर्ष देखी १४ वर्ष उमेर समूहका किशोरी गरी जम्मा एक सय ६१ जनालाई खोप लगाउने तयारी गरिएको खलंगा स्वास्थ्य चौकी शितलपाटीका प्रमुख दल बहादुर कुवरले जानकारी दिनुभयो ।
मंगलबार २ नम्बर वडा कार्यालय खलंगामा भएको सरोकारवालासँगको छलफलमा बोल्दै शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले वडाभित्रका सबै लक्षित किशोरीलाई खोपको पहुँचमा ल्याउने र खोप लगाउनबाट कोही नछुट्ने गरी लाग्न सबैमा आग्रह गर्नुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिव डाँगी, वडाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, बिद्यार्थी लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।