सल्यान, २२ माघ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा सल्यानको अध्यक्षमा भुम प्रकाश भण्डारी चयन हुनुभएको छ । मंगलवार जिल्लाको सदरमुकाम खलंगास्थित नेपाल पत्रकार महासंघ सल्यानको हलमा सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । जसको उपाध्यक्षमा बामदेव केसी, सचिवमा चुडामणी पुन, कोषाध्यक्षमा कुल बहादुर रेउले र सदस्यहरुमा धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पुर्णिमा डिसी रहनुभएको छ ।
यस्तै केन्द्रीय परिषद सदस्यमा शंकर केसी र शिवा डांगी तथा देश परिषद सदस्यमा झक्कु प्रसाद शर्मा र नोखिराम थापा बिक चयन हुनुभएको हो । यसअघि जिल्ला अधिबेशनको उद्घाटन गर्दै नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले पत्रकारले समाजको ऐनाको रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । समाजमा रहेका आवाजविहीन नागरिकको आवाज बोल्दै सत्यतथ्यमा आधारित रहेर निष्पक्ष पत्रकारिता गरिनुपर्ने उहाँको भनाइ छ ।
अधिवेशनमा बोल्दै नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन स्वच्छ, मर्यादित र निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता भएको बताउनुभएको छ । यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय निर्वाचन आयोगका प्रतिनिधि प्रेम बहादुर राम्जाले सिप, क्षमता र ज्ञान भएको ब्यक्ति पत्रकारितामा टिक्न र बिक्न सक्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष डिल्लीराज रावतले जिल्लाको पत्रकारितालाई माथी उठाउन सबैको साथ र सहयोग नितान्त आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सन्तोष घर्ती, नेपाल निजामती कर्मचारी संगठन सल्यानका अध्यक्ष डिल्ली घर्ती, उद्योग बाणिज्य संघ सल्यानका उपाध्यक्ष राजेन्द्र भण्डारी, प्रेस सेन्टर नेपाल सल्यानका अध्यक्ष सरिता चलाउने, समाजवादी प्रेस संगठन नेपाल सल्यानका अध्यक्ष बुद्धि पुन, जन पत्रकार संगठनका केन्द्रिय सदस्य खकेन्द्र केसी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य टेकराज शाही, गैरसरकारी संस्था महासंघ सल्यानका उपाध्यक्ष खड्क शाही लगाएतले बोल्नु भएको थियो ।
प्रेस चौतारीका सल्यान तत्कालिन अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झक्कु प्रसाद शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नोखिराम थापाले गर्नुभएको थियो ।