सल्यान, २५ माघ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ का तीन सय २९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । जसमा यही माघ २९ गते देखी फागुन १ गतेसम्म प्रभाकर माद्यामिक बिद्यालय देवस्थल, भैरवी आधारभूत बिद्यालय वेलखोला, कृष्ण बोर्डिङ स्कुल देवस्थल, लङग्रिन बोर्डिङ स्कुल सल्लिवजार र देवस्थल स्वास्थ्य चौकी देवस्थलमा एचपिभी खोप लगाइने भएको हो । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि कक्षा ६ देखी १० सम्म अध्यन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्ष देखी १४ वर्ष उमेर समूहका किशोरी गरी जम्मा ३ सय २९ जनालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य चौकी प्रमुख भुमा वलीले जानकारी दिनुभयो ।
शुक्रवार भएको सरोकारवालासँगको छलफलमा बोल्दै बन्गाड कुपिण्डे नगरपालिका–१ का वडाअध्यक्ष थुम बहादुर विसीले वडाभित्रका सबै लक्षित किशोरीलाई खोपको पहुँचमा ल्याउने र खोप लगाउनबाट कोही नछुट्ने गरी लाग्न सबैमा आग्रह गर्नुभयो । सो अवसर वडाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, बिद्यार्थी लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।