सल्यान, २६ माघ ।
सल्यानको कपुरकोट गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानलाई सफल पार्न पालिकास्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । अभियानलाई सफल पार्न समन्वय समिति र संचार क्षेत्रको अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । खोप अभियानलाई प्रभावकारी पार्न जनप्रतिनिधि सहितको जिम्मेवारी बाँडफाँड तथा योजना वनाउने काम गरिएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि गाउँपालिका भित्रका कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्ष देखी १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर यस गाउँपालिकाका १९ खोप केन्द्रबाट अभियान सञ्चालन हुदै छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले यही माघ २९ गतेदेखी फागुन १ गतेसम्म खोप अभियान सञ्चालन हुने बताउनुभयो । जसमा गाउँपालिका भरीका ८ सय ५० किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।
कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले बिद्यालय नजाने १० वर्ष देखी १४ वर्ष सम्मका किशोरी र जुनसुकै उमेर भएपनि कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने सबै छात्राहरुलाई एचपिभी खोप दिइने बताउनुभयो । समन्वयात्मक बैठकमा निमित्त प्रमुख प्रशासकिय अधिकृत डा. विनिता केसी, कपुरकोट गाउँपालिका–४ का वडाअध्यक्ष मित्र कठायत, नेपाल पत्रकार महासंघका प्रदेश परिषद् सदस्य जीतप्रसाद आचार्य, स्वास्थ्यकर्मी, शिक्षक लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।