सल्यानका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास

जिल्लामा पर्यटनका थुप्रै सम्भावना भएपनि केही क्षेत्रबाहेक कैयौंक्षेत्र अझै गुमनाम भएकाले ती सबै क्षेत्रको प्रचारप्रसार र विकास गरिनुपर्ने उहाँको भनाइ छ ।

सल्यान, ७ फागुन ।

सल्यान जिल्ला धार्मिक तथा सांस्कृतिक हिसावले धनी जिल्ला हो । दर्जनौं सम्पदा रहेको यस जिल्लामा पर्यटन प्रवद्र्धन र विकासका प्रचुर सम्भावना छन् । कुपिण्डे ताल, खैरावाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर छायाँक्षेत्र, कुमाख, चाँदनी साततले गुफा, बादुरी टाकुरा, हिमदर्शक पार्कलगायतका थुप्रै सम्पदा पर्यटक भिœयाउने क्षेत्र हुन् । यिनै सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै पूर्वाधार विकास गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्लाको शारदा नगरपालिका–५ की लोका बुढाथोकी खुशी हुनुहुन्छ । वरपिपलदेखि हिमदृष्य पार्कसम्म जाने बाटोमा स्ल्याव निर्माण भएपछि आन्तरिक पर्यटकसँगै स्थानीयलाई आउजाउ गर्न सजिलो भएको उहाँको भनाइ छ । ‘पहिले त बर्खामा हिलोका कारण घुम्न आउने सबैले सास्ती पाउने गरेका थिए, हिउँद र गर्मीयाममा धुलोका कारण त्यस्तै समस्या हुने गरेको थियो, सडकमा स्ल्याव हालेपछि निकै सहज भएको छ’– उहाँले भन्नुभयो । शारदा नगरपालिकाले २०७७ सालमा रानीकोटमा पार्क निर्माण गरेको थियो । रानीकोट पार्कलाई आयस्रोतको रुपमा पनि अघि बढाउन संरचनामा सुधार र प्रचारप्रसारमा जोड दिइएको छ । ‘रमणीय ठाउँ छ, यहाँ आउने जो कोहीको पनि मन लोभिन्छ’– उहाँले भन्नुभयो । शुरुवातको बेला रानीकोट पार्क निर्माणमा करिब २२ लाख बजेट लगानी गरिएको थियो ।

सदरमुकाम खलंगाबाट करिब दुई किलोमिटरको दूरीमा पर्ने हिमदृष्य पार्क पर्यटन प्रवद्र्धनको एक अभिन्न क्षेत्र हो । हालै पार्कसम्म पुग्ने निर्माण गरिएको स्ल्यावले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्नेछ । यसपटकको सल्याव पार्कसम्म नपुगेकाले थप बजेट माग गरेर पार्कसम्मै पुग्ने गरी सल्याव निर्माण गरिने र यसले पर्यटन प्रवद्र्धनमा जोड दिने शारदा नगरपालिका–५ का वडाध्यक्ष प्रदीप शाहीले बताउनुभयो ।

यस वर्ष जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले चारवटा योजना तय गरेको छ । केही योजनाको काम भइरहेको छ भने हिमदृष्य पार्क जाने सल्याव निर्माण भइसकेको छ । डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले कर्णाली प्रदेश सरकार र स्थानीयको श्रमदान गरेर ६० लाख रुपैयाँमा स्ल्याव निर्माण गरिएको बताउनुभयो । यससँगै बादुरी टाकुरा, कुमाख लेक, कुपिण्डे तालमा पनि यसैबर्ष पर्यटन प्रवद्र्धन र संरक्षणका लागि आवश्यक संरचना बनाइने बताउनुभयो ।

जिल्लामा पर्यटकीय क्षेत्र थुप्रै भए पनि उपयुक्त मार्ग नहुँदा आन्तरिक पर्यटकले सास्ती पाइरहेका छन् । सोही कुरालाई हेरेर सरकारले कतै सडक निर्माण त कतै पदमार्ग निर्माण गर्न लागेको हो । सल्याव निर्माणको अनुगमण गर्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले प्रदेश सरकारको पर्यटकीय स्थलको पहिचान, संरक्षण तथा पुनर्निर्माण गर्ने योजना जिल्लाका लागि महत्वपुर्ण भएको बताउनुभयो । जिल्लामा पर्यटनका थुप्रै सम्भावना भएपनि केही क्षेत्रबाहेक कैयौंक्षेत्र अझै गुमनाम भएकाले ती सबै क्षेत्रको प्रचारप्रसार र विकास गरिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस