सल्यान, १५ फागुन ।
निराजन माध्यमिक विद्यालयकी छात्रा झरना बोहरा खुशी देखिनुहुन्छ । उहाँको खुशीको कारण हो, विद्यालयमा जडान गरिएको प्याड डिस्पोजल मेसिन । कक्षा ११ मा पढ्ने यी छात्रालाई प्याड डिस्पोजल मेसिनले सहज भएको छ । ‘अब हामीले महिनावारी हुँदा प्रयोग गर्ने प्याड डस्टबिनमा फाल्नु पर्दैन, मेसिनमा हालिदिए पुग्छ’– बोहोराले भन्नुभयो– ‘विद्यालयले प्याड डिस्पोजल मेसिन पाएपछि प्याड प्रयोग गर्ने उमेरका तीन सय छात्रालाई सहज भएको छ ।’
सोही विद्यालयकी कक्षा ९ की अर्की छात्रा ग्रिस्मा बोहराका अनुसार स्कुलले उपलब्ध गराउने प्याड प्रयोग गर्न पनि सहज छ । विगतमा प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा शौचालय निकै दुर्गन्धित हुने गरेकोमा अहिले प्याड नष्ट गर्ने मेसिन जडान भएपछि सहज भएको उहाँ बताउनुहुन्छ । ‘हुन त हाम्रो स्कूलमा प्याड व्यवस्थापन गर्ने डस्टबिन छ तर पनि कहिलेकाहीं साना बहिनीहरूले प्याड फाल्न नमिलेर बाहिर झर्ने गर्छ, शौचालय फोहोर भएको हुन्छ’– मेसिन जडान भएपछि खुशी हुँदै उहाँले भन्नुभयो– ‘यसले दुर्गन्ध रोकेको छ । जसले गर्दा हामीलाई कक्षा कोठामा अध्ययन गर्न सहज हुन्छ ।’
विद्यालयमा कुल सात सय विद्यार्थी छन् । तीमध्ये प्याड प्रयोग गर्ने छात्राहरूको संख्या तीन सय हाराहरी छ । मागको आधारमा गाउँपालिकाले खरिद गरेको प्याड विद्यालयले विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले प्रयोग भइसकेको प्याडको व्यवस्थापनले सहज भएको बताउनुभयो । सरकारले देशभरका करिब १० लाख छात्राले लाभ लिने गरी डेढ अर्ब रकम, निःशुल्क सेनेटरी प्याडका लागि खर्च गर्दै आएको छ । कतिपय ठाउँमा भनेकै समयमा प्याड नपाएको, प्याडको गुणस्तर र साइज नमिलेको लगायतका गुनासा आइरहन्छन् । कतिपय ठाउँमा प्रयोग गरिएका प्याड व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरणसँगै, प्रयोगपछि प्याड नष्ट गर्ने मेसिन जडान हुँदा, छात्राहरुलाई सहज भएको छ । महिनावारीको कारण नै छात्राहरू विद्यालयमा नआउने र बीचैमा विद्यालय छाड्ने संख्या वृद्धि हुँदै गएपछि सरकारले २०७६ सालमा कार्यविधि नै बनाएर देशभरिका विद्यालयमा निःशुल्क रुपमा प्याड वितरण गर्दै आएको छ ।
सिद्धकुमाख गाउँपालिकाले पालिकाभरका छवटा माध्यमिक विद्यालयमा निःशुल्क प्याड वितरणसँगै प्याड नष्ट गर्ने मेसिन जडान गरेको गाउँपालिका अध्यक्ष भरत गिरीले जानकारी दिनुभयो । ‘छात्राहरु महिनावारी भएको समयमा विद्यालयमा नै नआउने, प्रयोग गरेको प्याडलाई नै व्यवस्थापन गर्न गाह्रो हुने लगायतका थुप्रै समस्या थिए, हामीले प्याड उपलब्ध गराएका थियौं तर प्रयोग गरिएको प्याड व्यवस्थापनमा चासो दिएका थिएनौं’– उहँँले भन्नुभयो– ‘छात्राहरुको चाहना, माग र आवश्यकताका आधारमा सबै बिद्यालयमा प्याड डिस्पोजल मेसिन जडान गरेका छौं, जसले छात्रा र शिक्षिकालाई सहज हुनेछ ।’ प्याड डिस्पोजल मेसिनले वातावरण सफा राख्न पनि मद्दत मिल्ने अध्यक्ष गिरीको भनाइ छ ।
‘महिनावारी हुने उमेरका छात्राहरुको सहजताका लागि गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा गाउँपालिकाले प्याड डिस्पोजल मेसिनको व्यवस्था गरेको छ’– उहाँले थप्नुभयो– ‘विद्यालयमा प्याड व्यवस्थापनको उचित व्यवस्था नभएकाले जलाउनेलगायतका व्यवस्थापनले वातावरण दूषित हुने गरेको गुनासो आएको छ तर यो डिस्पोजल मेसिनले प्याडलाई जलाएर धुलो बनाइदिन्छ, यसले वातावरणमा सकारात्मक असर पारेर स्वस्थ बनाउँछ ।’