
सल्यान, ३ चैत ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सल्यानमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा शनिबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने नारासहित अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले उद्योगी व्यवसायी र उपभोक्ताको हकहितका क्षेत्रमा सरोकारवाला निकायहरूले विशेष चासोका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए । जिल्लामा खाद्यवस्तु मात्र नभई अन्य क्षेत्रको पनि प्रभावकारी अनुगमन गर्नुपर्नेमा उनीहरूको जोड रहेको थियो । नियमित बजार अनुगमन अभावका कारण धेरैजसो व्यापार व्यवसाय दर्ता बिना सञ्चालनमा रहेकोसमेत छलफलमा उठाइएको थियो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरेन्द्र श्रेष्ठले व्यापारीहरूका लागि घुम्ती शिविर सञ्चालन गरी व्यापार व्यवसाय दर्ता तथा नविकरण सहज बनाइएको जानकारी दिनुभयो । साथै व्यवसायीहरूलाई आवश्यक परामर्श पनि प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले बजार अनुगमनलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको अभाव हटाउन गरिएको पहल सफल भएको बताउँदै उहाँले जिल्लाका सबै पालिकामा नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो । साथै, उद्योगी व्यवसायीले गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
यो आर्थिक वर्षको फागुनसम्म ९ पटक वजार अनुगमण गरी एक सय एक वटा व्यापार व्यवसायको अनुगमन गरिएको जानकारी दिँदै उहाँले अनुगमनका क्रममा म्याद नाघेका ४६ हजार ८१६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको जानकारी दिनुभयो ।
उपभोक्ता अधिकार र कानुनी प्रबन्धबारे प्रस्तुतीकरण
कार्यक्रममा उपभोक्ता मञ्चका प्रतिनिधि रामचन्द्र रेग्मीले उपभोग्य वस्तु तथा सेवा, उपभोक्ता अधिकार, सैद्धान्तिक अवधारणा, संवैधानिक, कानुनी, नीतिगत तथा संस्थागत प्रबन्ध, अनुचित व्यापारिक वा व्यवस्थापनजन्य क्रियाकलापलगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थित रहेको थियो भने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सूचना अधिकारी ध्रुव खत्रीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।