त्रिबेणीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम : ज्ञान र अनुभव पुस्तान्तरण गर्नैपर्छ – मुख्यमन्त्री कडेँल

‘सम्पत्ति हुँदा मात्रै आमाबुवा, बाजेबज्यै वा जेष्ठ नागरिकलाई सम्मान र माया गर्ने समाजले सम्पत्ति नपाउँदा बेवास्ता गर्ने, हेरचाह नगर्ने गरेको पाइन्छ, यो कार्य स्वीकार्य छैन्’ उहाँले थप्नुभयो ‘उमेर बढ्दै गएपछि वृद्ध हुने सबै हो, आफ्ना अभिभावकलाई माया र सम्मान गर्न जरुरी छ ।’

 

सल्यान, ४ चैत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलले जेष्ठ नागरिकसँग भएको ज्ञान र अनुभव नयाँ पुस्तामा पुस्तान्तरण गर्नैपर्ने बताउनु भएको छ । उहाँले समयक्रमसँगै मानवीय विकास नै विकासको मेरुदण्ड भएकाले जेष्ठ नागरिकसँग भएको सिप, कला, ज्ञान, अनुभव सबैलाई नयाँ पुस्तामा पुस्तान्तरण गरिनुपर्ने र यसले उनीहरुप्रतिको सम्मान, विश्वास र भरोसा अझै बढ्ने बताउनुभएको हो ।

सोमबार सल्यानको त्रिबेणी गाउँपालिकाले लुहाममा आयोजना गरेको जेष्ठ नागरिक संरक्षण अन्तर्गत एकीकृत कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘हिजोका दिनमा सडक वा बाटो खन्नु नै विकास हो भन्ने बुझिन्थ्यो, अहिले समयको परिवर्तनसँगै मानवीय विकास नै विकासको मेरुदण्डको रुपमा रहेको छ, समुदाय र नागरिकको विकास नै अपरिहार्य छ’ उहाँले भन्नुभयो ‘युवाविहीन बन्दै गएको समाजमा जेष्ठ नागरिकको गरिमा र देन सबै ग्रहणयोग्य नै छ ।’

उहाँले माया र सद्भाव गर्नुपर्ने जेष्ठ नागरिकलाई वेवास्ता गर्ने, अपहेलित गर्ने, वृद्धाश्रम छोड्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । ‘सम्पत्ति हुँदा मात्रै आमाबुवा, बाजेबज्यै वा जेष्ठ नागरिकलाई सम्मान र माया गर्ने समाजले सम्पत्ति नपाउँदा बेवास्ता गर्ने, हेरचाह नगर्ने गरेको पाइन्छ, यो कार्य स्वीकार्य छैन्’ उहाँले थप्नुभयो ‘उमेर बढ्दै गएपछि वृद्ध हुने सबै हो, आफ्ना अभिभावकलाई माया र सम्मान गर्न जरुरी छ ।’

मुख्यमन्त्री कडेँलले जेष्ठ नागरिकको आयु बढेकोमा खुसी व्यक्त गर्नुभयो । ‘हिजोका दिनमा ८४ पुगेका मान्छे समाजमा भेट्नै गाह्रो हुन्थ्यो, औसत आयु कम थियो, धेरै मान्छे अल्पायुमै बित्ने गरेका थिए, अहिले भौतिक विकाससँगै मानवीय विकासले पनि फड्को मारेको छ, मान्छेको आयु बढेको छ, समुदायका खम्बा जीवित रहनुभनेकै हाम्रो संस्कार, संस्कृति, परिवेश सबै जीवित रहनु हो ।’

सरकारले जेष्ठ नागरिकको मासिक भत्ता चार हजार पुर्याएको बताउँदै उहाँले सरकार जेष्ठ नागरिकप्रति जिम्मेवार बनेको बताउनुभयो । ‘पालनपोषणका लागि सरकारले भत्ता दिन्छ, स्वास्थ्य उपचारमा सहुलियत छ, गाउँपालिकाले हेरचाहमा ध्यान दिदै जेष्ठ नागरिकको भेटघाटलाई महत्व दिएको छ’ उहाँले भन्नुभयो । समग्र त्रिबेणीको विकासमा प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले जेष्ठ नागरिकको सम्मान हाम्रो संस्कृति र संस्कारसँग जोडिएको बताउनुभयो । उहाँले त्रिबेणी गाउँपालिका भएर प्रदेश जोड्ने लुहाम काभ्रा कालिमाटी सडक, अन्तर प्रदेश जोड्ने लुहाम फलाबाङ तुलसीपुर सडकको स्तरोन्नतिसँगै समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।

यस्तै, प्रदेश सरकारका पूर्वभुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले जेष्ठ नागरिकसँग भएको सिप, क्षमता र ज्ञानको सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा, प्रदेश सभा सदस्य लक्ष्मी सुनार, जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी साबित्रा पुन लगायतको आतिथ्यता रहेको थियो ।

त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जेष्ठ नागरिकहरूको सम्मान गर्ने, जीवनस्तर सुधार्ने, उनीहरूको अधिकारको संरक्षण गर्ने र उनीहरूको भलाइका लागि विभिन्न सामाजिक, आर्थिक र स्वास्थ्य सेवा सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ जेष्ठ नागरिक सम्मेलन गरिएको बताउनुभयो । ‘जेष्ठ नागरिकमा समृद्ध ज्ञान र अनुभव हुन्छ, जसलाई पुस्तान्तरण गर्न आवश्यक छ, वृद्धावस्थामा पुगेका व्यक्तिहरूको जीवनभरको अनुभव र सीपहरू यदि नयाँ पुस्तासम्म पुर्याइन्छ भने, यसले समाजलाई ठूलो फाइदा पुर्याउँछ’ उहाँले भन्नुभयो ‘जेष्ठ नागरिकहरूको अनुभव र ज्ञानलाई सम्मान गर्नु पनि पर्छ, यसले समाजको समृद्धि र एकता बढाउँछ ।’

यस पालिकाभरमा ९ सय ३८ जना जेष्ठ नागरिक रहेका छन् । ती जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान, जेष्ठ नागरिक परिचय पत्र वितरण, स्वास्थ्य जाँच, कान तथा आँखा जाँच, सांस्कृतिक कार्यक्रम तथा सामूहिक खानपिनको व्यवस्था गरिएको थियो । सो अवसरमा १ सय ४७ जनाको कानको जाँच गरिएकोमा २७ जनालाई रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै ९९ जना महिला र ७३ जना पुरुष जम्मा १७२ जनाको स्वास्थ्य परिक्षण गरियो । यस्तै १५८ जनाको आँखा जाँच गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पशु सेवा शाखामा कार्यरत बसन्त रावतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस