वारिपारीका बस्ती जोड्न शारदा नदिमा मोटरेवल पुल

व्यक्तिले चाहादैमा व्यवस्था बदलिदैन् : मुख्यमन्त्री कडेँल

सल्यान, ५ चैत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलले कुनै व्यक्तिले चाहादैमा अहिलेको व्यवस्था बदलिन नसक्ने बताउनुभएको छ । जनता नै जर्नादन भएको भन्दै उहाँले अहिलेको व्यवस्था फेर्न केही व्यक्ति सामाजिक संजालमा उफ्रिएको भएपनि लामो संघर्षबाट प्राप्त भएको गणतान्त्रिक व्यवस्था बदलिन नसक्ने बताउनुभएको हो । सोमबार सल्यानको त्रिबेणी गाउँपालिका १ र २ मा अवस्थित काभ्रा रामपुर शंखपिपल जोड्ने शारदा नदि सडक मोटरेवल पुलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘देशको आर्थिक अवस्था कमजोर भएकै कारण अहिले विभिन्न समस्या देखिएका छन्, यस्तो अवस्थामा २÷४ जना व्यक्ति सामाजिक संजालमा व्यवस्था फेर्ने भन्दै उफ्रेका छन्, जनताले नचाहेसम्म अहिलेको व्यवस्था परिवर्तन हुदैन’ उहाले भन्नुभयो ‘व्यक्ति वा सत्तामा पुगेकाबाट सत्ता संचालनका क्रममा केही गल्ती भयो होला, तर संसारै खसेजसरी केही व्यक्ति अहिलेको व्यवस्थामाथि धावा बोलिरहेका छन्, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन् ।’

उहाँले काँग्रेस, एमाले र माओवादीले मात्रै गणतन्त्रको रक्षा गर्न सक्ने बताउनुभयो । सत्तामा बसेका केही व्यक्तिले आफु खुसी काम गर्दा समस्या भएको बताउदै उहाँले भन्नुभयो ‘परिवर्तनका नारा लगाएर आएका नयाँ पार्टीका हालत पनि हेरेकै छौँ, गणतन्त्र पछि मात्रै विकास निर्माण र समृद्धिको काम थालनी भएको हो, नागरिकका अपेक्षा धेरै छन्, ती सबै समस्या समाधान गर्नु राज्यको दायित्व हो ।’

मुख्यमन्त्री कडेँलले कर्णाली प्रदेश सरकारले अपेक्षित रुपमा बजेट खर्च गर्न नसकेको स्वीकार गर्नुभयो । ‘थोरै वजेट भएपनि सरकारले सोचेअनुसारको वजेट खर्च गर्नै सकेको छैन्, यसमा सरकार, कर्मचारी र निर्माण पक्ष उत्तिकै जिम्मेवार छन्, यसपटक प्रदेशमा नयाँ भन्दा पनि राज्यले लगानी गरेका तर पुरा नभएका योजनालाई प्राथमिकता दिएर काम गरिरहेका छौँ’ उहाँले थप्नुभयो ‘चुनावमा प्रतिस्पर्धा गरौँला, अहिले समाजको विकास र रुपान्तरणमा जोड दिऔँ ।’ उपभोक्ता समिति पार्टी विस्तार गर्ने माध्यम भएकाले त्यसलाई रोकेको उहाँको भनाइ छ ।

यस्तै कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले संघीयतामाथि प्रश्न उठाएर प्रदेश सरकार खारेजीको कुरा उठ्न थालेकाले कुनै गुणासो नआउने गरि गुणस्तरीय र नागरिकमैत्री काम गर्न सुझाव दिनुभयो । यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले समुदायको माग र चाहाना बमोजिम विकास गरिनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

पुल उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यद्धय भिम प्रकाश शर्मा र लक्ष्मी सुनार, जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल लगाएतले बोल्नुभएको थियो । २०७९ साल बैशाखमा सम्झौता भएको ८४.३ मिटर लामो पुलको निर्माण कार्य हालै सम्पन्न भएको पूर्वाधार कार्यालय सल्यानका प्रमुख नवीन थापाले जानकारी दिनुभयो । नारायण/भगवती जेभी नेपालगञ्जले ७ करोड १ लाख ६३ हजार ४४८ रुपैयाँमा पुल निर्माणको जिम्मा लिएर सम्पन्न गरेको उहाँको भनाइ छ ।

पुल सञ्चालनमा आएपछि स्थानीयबासी खुसी भएका छन् । यस पुलबाट त्रिबेणी गाउँपालिकाको काभ्राबाट कारागिठी हुदैँ शारदा नगरपालिकाको खैरावांङ आउजाउ गर्न सहज हुने छ । पुर्वाधार विकास कार्यालयका इन्जिनियर भरत शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत धर्मराज डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस