सल्यान, ८ चैत ।
सल्यानमा वन डढेलो नियन्त्रणका लागि धमाधम संयन्त्रण निर्माणको काम थालिएको छ । गर्मीयाम सुरुभएसँगै वन आगलागीका घटना हुनसक्ने भएकाले त्यस्ता घटनामा कमी ल्याउनका लागि जिल्लाका दश वटै स्थानीय तहमा जनप्रतिनिधि, वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ लगाएत सरोकारवालाको सहभागितामा वन डढेलो रोकथाम, नियन्त्रण तथा व्यवस्थापन संयन्त्र निर्माण गरिएको हो । जिल्लाका दश स्थानीय तहमध्ये सात वटामा संयन्त्र गठन भैसकेको छ भने तीन वटामा संयन्त्र गठनको तयारीमा रहेको छ ।
हालसम्म कपुरकोट, त्रिबेणी, छत्रेश्वरी, कुमाख र दार्मा गाउँपालिका तथा बन्गाड कुपिण्डे र शारदा नगरपालिकामा संयन्त्र गठन गरिएको छ । यस्तै बागचौर नगरपालिकासँगै सिद्धकुमाख र कालिमाटी गाउँपालिकामा संयन्त्र गठन गर्न बाँकी रहेको छ । ती पालिकामा पनि यसै साता संयन्त्र गठन गर्ने र आगलागी नियन्त्रण तथा रोकथामका लागि रणनितिक योजना बनाएर अघि बढ्ने वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय सल्यानका सुचना अधिकारी ललितजंग खड्काले पालिकामा गठन भएका संयन्त्रले सबैलाई जिम्मेवार बनाउने मात्र नभई डढेलो नियन्त्रणका लागि सक्रियताका साथ भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘सल्यान डढेलोको उच्च जोखिममा छ, डढेलो नियन्त्रणका लागि स्थानीय तह तथा सामुदायिक वनको उत्तिकै जिम्मेवारी हुने भए पनि सधैं नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको भर पर्नुपरेको छ, त्यसैले सरोकारवाला सबै निकायलाई उत्तिकै जिम्मेवार बनाउन लागि परेका छौँ’ उहाँले भन्नुभयो ।
डढेलो नियन्त्रणका लागि सामुदायिक वनलाई सक्रिय बनाइने डिभिजन वन कार्यालयले जनाएको छ । यसैक्रममा विहीबार शारदा नगरपालिकास्तरीय वन डढेलो रोकथाम, नियन्त्रण तथा व्यवस्थापन संयन्त्र गठन गरिएको छ । शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ । जसमा नगरभित्रका सरोकारवालाहरु समावेश भएका छन् ।
सो अवसरमा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले वन डढेलो नियन्त्रण गर्ने दायित्व सबै सरोकारवालाको भएको बताउनुभएको छ । यदी कसैले जानी वा नजानी वनमा डढेलो लगाउँछ भने त्यस्तो व्यक्ति वा समुहलाई कानुनी कारवाही गर्नुपर्ने भन्दै उहाँले सबैको साझा सम्पत्तिको रुपमा रहेको वनजंगलको सरंक्षण गर्नैपर्ने बताउनुभयो ।
यस्तै डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले सामुदायिक वनका सदस्य सचेत भए मात्र पनि वनमा लाग्ने डढेलो धेरै कम हुने भएकाले संयन्त्र गठन गरिएको बताउनुभयो । जिल्लामा आगलागी नियन्त्रणका लागि दमकल लगाएतका स्रोतसाधनको व्यवस्था नभएको अवस्थामा डढेलो रोक्नुको एक विकल्प सचेतीकरण भएको उहाँको भनाइ छ ।
कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, शारदा नगरपालिका ४ का वडाअध्यक्ष किशोर कुमार हमाल, सामुदायिक वन उपभोक्ता महासंघ सल्याका उपाध्यक्ष डम्बरसिंह तिरुवा, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिव डाँगी लगाएतले बोल्दै वनमा आगलागी हुनै नदिन के गर्ने, भैहाले हालेमा कसरी नियन्त्रण गर्ने र क्षति कम गर्न के गर्ने लगाएतका बारेमा योजनावद्ध तरिकाले अगाडी बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमको सहजीकरण शारदा सवडिभिजन प्रमुख अन्जना शर्माले गर्नुभएको थियो ।