सल्यान, १४ चैत ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाको मेरुद्धण्डको रुपमा रहेको लान्ति–लेखपोखरा–दमाचौर सडक खण्डमा रहेको जीर्ण कल्भर्टका कारण नागरिकले सास्ती पाएका छन् । गाउँपालिकाको केन्द्र भोटचौरबाट वडा नम्बर ६ को लान्ति, वडा नम्बर ५ लेखपोखरा, वडा नम्बर २ दहखोला, वडा नम्बर १ दमाचौर हुदैँ रोल्पा जोडिने सडक खण्डको पुल्लेबोट खोलामा रहेको कल्भर्ट भत्किएका कारण नागरिकले सास्ती पाएका हुन् ।
यस सडकखण्डबाट मोटरसाइकल, एम्बुलेन्स, ट्याक्टर, साना सवारीसाधन र यात्रुवाहक बस दैनिक आवतजावत गरिरहन्छन् । तर पुल्लेबोट खोलामा भत्किएको कल्भर्टको निर्माणमा भने विलम्ब भएको छ । कल्भर्टको एउटा छेउ भत्किएर प्वाँल परेको छ । विचको भाग पनि उप्किएको छ । जसका कारण कल्भर्टमा राखिएका सरिया नै निस्किएका छन्, यसले दुर्घटनाको जोखिम बढाएको स्थानीय बताउँछन् ।
स्थानीय गणेश विकले गुणस्तरहीन कल्भर्ट निर्माण गरिएको कारण ५/७ बर्षमै भत्किएको बताउनुभयो । ‘बर्खामा खोला ठुलो हुन्छ, कल्भर्ट सानो भएकाले त्यसैमाथिबाट खोला बग्छ, अहिले त कल्भर्ट नै भत्किएको छ, दैनिकी दुई दर्जन बढी सवारीसाधनले आवतजावत गर्छन्’ उहाँले भन्नुभयो ‘भत्किएको कल्र्भटले सास्ती बनाएको छ, दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।’
उहाँले लान्ति–लेखपोखरा हुदैँ दमाचौर जोड्ने सडक र लान्ति–सांगार हुदैँ स्यानीखाल जोड्ने सडकको ट्र्याक खुलेको डेढ दशक हुदा पनि स्तरोन्नति नहुदा समस्या भएको गुणासो गर्नुभयो । ‘त्यो बेला सडक आउँछ भनेपछि खेतवारीकै माया मारेर सडक खन्न दिएकै हो, हाम्रो भन्दा पछि ट्र्याक खुलेका सडक कालोपत्रे भैसके, तर यो सडक भने धुलो र हिलोमै सिमित छ’ उहाँले थप्नुभयो । पुल्लेबोट खोला कल्भर्ट भएर लेखपोखरा र स्यानीखाल दुबै तीर जाने सडक भएकाले स्थानीय तहले पनि ध्यान नदिएको उहाँको भनाइ छ ।
केही बर्षअघि यससडक खण्डको सांगारमुलमा कल्भर्ट निर्माण गरिएको थियो । तर त्यो पनि जीर्ण हुदैँ गएको छ । हालै मात्र बरलारुख नजिकैँ बेतेनीखोलामा कल्भर्ट निर्माण गरिएको छ । वजेट नहुदा पुल्लेबोट खोलामा नयाँ कल्भर्ट निर्माण गर्न नसकिएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाअध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिनुभयो ।
‘कल्भर्ट जीर्ण भैसकेको छ, नयाँ निर्माण आवश्यक छ, तर गाउँपालिकामा वजेट छैन्, हामीले अघिल्लो बर्ष वजेट माग गरेका थियौँ, तर आएन्, यो पटक पनि प्रदेश सरकारसँग वजेट माग गरेका छौँ’ उहाँले भन्नुभयो ‘दश लाख रुपैँया सम्मले काम सकिने खालको भए गाउँपालिकाकै वजेटबाट काम गर्न सकिन्थ्यो, वजेट धेरै लाग्ने भएकाले कार्यपालिका बैठकबाट नै निर्णय गरेर कर्णाली प्रदेशसँग माग गरेका छौँ ।’
यो बर्ष प्रदेश सरकारकै वजेटको आस गरिएको र यदी प्रदेशले वजेट नदिए अर्को बर्ष गाउँपालिकाकै वजेटबाट भएपनि कल्भर्ट निर्माण गरिने वडाअध्यक्ष बस्नेतको भनाइ छ ।