
सल्यान, १६ चैत ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले नवौं जिल्ला अधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत यही चैत्र २० र २१ गते सदरमुकाम खलंगामा हुने अधिवेशनका लागि लोगो सार्वजनिक गरिएको हो।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित तयार पारिएको लोगोमा सल्यानका प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल, धार्मिक तथा ऐतिहासिक महत्वका खैराबाङ मन्दिर, छत्रेश्वरी मन्दिर, कालिमाटीको गंगामाला मन्दिर, कुमाख पहाड, पार्टीको चुनाव चिन्ह तथा झण्डा समावेश गरिएको छ।
अधिवेशनमा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। साथै, केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला, सचिव चन्द्र बहादुर शाही लगायत नेताहरूको उपस्थिति रहने जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिनुभयो।
जिल्ला अधिवेशनको अवसरमा स्थानीय मौलिकता झल्किने सांस्कृतिक झांकी हरु समेत प्रस्तुत गरिने नेकपा (एकीकृत समाजवादी) सल्यानले जनाएको छ।