सल्यान, १८ चैत ।
पत्रकार हत्या र मिडियामाथि भएको तोडफोडका दोषिउपर कारवाहीको माग गर्दै सल्यानबाट सरकारकोे ध्यानाकर्षण गराइएको छ । शुक्रवार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाइ गरेका कुकार्यको विराध गर्दै सोमबार नेपाल पत्रकार महासंघ सल्यानले सरकारको ध्यानाकर्षण गराएको हो । काठमाण्डौँमा भएको प्रर्दशनमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, बिभिन्न मिडियामा तोडफोड तथा आगजनी गरेको, पत्रकारलाई आक्रमण गरेको तथा क्यामरा खोसिएको लगाएतका हर्कत भएकाले ती कार्यमा संलग्नको पहिचान गरी दोषिउपर कारवाहीको माग गरिएको हो ।
‘प्रमुख जिल्ला अधिकारी ज्यूमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ’ सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन मार्फत गृह मन्त्रालयलाई बुझाइएकोध्यानाकर्षण पत्रमा भनिएको छ ।
यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि पत्रकार महासंघको सल्यान शाखाले माग गरेको छ । साथै एकसाता भित्र माग सम्बोधन नभएर चरणबद्ध रुपमा आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ । ध्यानाकर्षण पत्र बुझाउन जिल्ला शाखाका अध्यक्ष डिल्लीराज रावत, उपाध्यक्ष शिवलाल डाँगी, सचिव बुद्धि पुन, सहसचिव खेमराज स्वर्णकार, कोषाध्यक्ष खकेन्द्र केसी सहित बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।