
सल्यान, २३ चैत ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष प्रकाश ज्वालाले गणतन्त्रको मुख्य चुनौती भनेकै बेरोजगारी भएको बताउनुभएको छ । उहाँले गणतन्त्रकै जगमा स्थापित भएको सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको र अहिले बढ्दै गएको बेरोजगारी मुख्य चुनौतीको रुपमा देखिएको बताउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो ‘विगतमा पनि राजावादीको षडयन्त्र भैरहेको थियो, विभिन्न तत्वहरुले राष्ट्रिय हित र स्वाधिनताको विरुद्धमा बोलिरहेका थिए, अहिले झन् राजतन्त्र फर्काउनेहरु मौलाउन थालेका छन्, गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन् ।’
ज्वालाले समाजवादको आधार तयार गर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । ‘गणतन्त्रका जगमा बनेका सरकार स्थिर हुन सकेनन्, सरकारले राम्रो काम पनि गर्न सकेनन्, महंगी, भ्रष्टाचार लगाएतका घटना बढे, यसले नागरिकमा निराशा छाएको छ’ उहाँले भन्नुभयो ‘गणतन्त्रका सयौँ पक्ष सुन्दर छन्, तर माथिल्लो ओहोदामा पुग्ने निश्चित व्यक्तिका व्यक्तिगत स्वार्थका कारण गणतन्त्रमाथि प्रश्न उठन् थालेको छ ।’ सरकारले विकास, समृद्धि र सुशासनका क्षेत्रमा दृढताका साथ काम गर्नुपर्ने उहाँको भनाइ छ ।
पार्टीका प्रचार विभाग प्रमुख समेत रहनुभएका ज्वालाले राजतन्त्र स्थापित गर्दै राजा फर्किन्छन् भन्नु दिवा सपना भएको बताउनुभएको छ । ‘राजावादीको सपना पुरा हुदैन्, राजा फर्किन हामी दिदैँनौँ, पुरानो, मरेको, सडेको व्यवस्था अव कदापी फर्किदैन्, अहिले जे जति चलखेल भैरहेका छन्, यो भनेको मुलुकलाई फेरि पुरानै भूमरीमा राख्न खोज्नु हो’ ज्वालाले थप्नुभयो ‘यो गणतन्त्र हो, बोल्न सबैलाई छुट छ, त्यहीभएर गणतन्त्रमा बसेर राजतन्त्र फर्काउने सपना देखिएको हो, अरु गणतन्त्रमा केही कमीकमजोरी छन् भने छलफल गरौँ, साझा मुद्धा बनाएर अघि बढौँ ।’
उहाँले नेपाली जनताले अव स्थायी सरकार चाहेको बताउनुभयो । ‘जनताबाट प्रत्यक्ष निर्वाचित भएको कार्यकारी व्यक्ति आउँदा सरकार स्थायी हुन्छ, स्थायी सरकारले नै नागरिकका हकअधिकार र सवालमा काम गर्छ, विकास, समृद्धि र सुशासनका क्षेत्रमा काम गर्छ, बढ्दो बेरोजगारी, गरिविलाई हटाउने काम गर्छ’ उहाँले भन्नुभयो । आफु र आफ्नो पार्टी पनि स्थायी सरकारकै पक्षमा भएको उहाँको दावी छ ।

पत्रकार सम्मेलनमा पार्टीका नवनिर्वाचित जिल्ला अध्यक्ष रमेश कुमार गौतमले पार्टीको नवौँ जिल्ला अधिवेशन सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ । बुधबार र विहीबार गरि दुई दिनसम्म चलेको जिल्ला अधिवेशनले गौतमको अध्यक्षतामा ६७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा टेक बहादुर वली र कल्पना सेजवाल, सचिवमा प्रेम बहादुर डिसी, उपसचिवमा मनविर बस्नेत, जीतप्रसाद आचार्य र गोविन्द डाँगी रहनुभएको छ ।
पत्रकारसम्मेलनमा पार्टीका केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्र बहादुर शाही, केन्द्रीय सदस्य लोक बहादुर डाँगी, शारदा परियार, प्रेमा अधिकारी, निवर्तमान जिल्ला अध्यक्ष रामकुमार खड्गी लगाएतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण पार्टी सचिव प्रेम बहादुर डिसीले गर्नुभएको थियो ।