वन डढेलो नियन्त्रण तथा व्यवस्थापन गर्न समुदाय तयार

स्कुले तहबाटै वन संरक्षणको शिक्षा, ग्रामीण भेगमा बायो ग्यास जस्ता वैकल्पिक ऊर्जा स्रोतको प्रयोग, डढेलोको अध्ययन तथा विश्लेषणमा लगानी र चेतनामूलक कार्यक्रम नै यस समस्याको स्थायी समाधान हुने सरोकारवालाको बुझाई छ ।

सल्यान, ३ बैशाख ।
गर्मीयाम सुरु भएसँगै सल्यान जिल्लामा वन डढेलोको जोखिम बढ्न थालेको छ । यही जोखिमलाई मध्यनजर गर्दै यहाँका स्थानीय समुदायहरू अहिले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि सक्रिय रुपमा तयारी अवस्थामा रहेका छन् । वन क्षेत्रको संरक्षण, जैविक विविधताको रक्षा तथा मानव बस्तीलाई सुरक्षित राख्न स्थानीय निकाय, वन उपभोक्ता समूह, सामुदायिक वन समितिहरू तथा सरोकारवाला संघसंस्थाहरूको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।

सकेसम्म वन डढेलोका घटना हुनै नदिने र यदी भैहालेमा त्यसलाई बेलैमा नियन्त्रण तथा व्यवस्थापन गर्न आफुहरु तयार रहेको समुदायले बताउने गरेका छन् । वन डढेलो नियन्त्रणका लागि समुदायलाई सक्रिय बनाउने उद्धेश्यले डिभिजन वन कार्यालय सल्यानको आर्थिक सहयोग र सामुदायिक रेडियो राप्ती एफएम सल्यानले जिल्लाको बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा सचेतनामुलक वहस गरेको छ । सामुदायिक वन उपभोक्ता समूहहरूमार्फत पनि गाउँस्तरमा सचेतनामुलक कार्य सञ्चालन भएका छन् ।

बागचौरमा रहेको नौलो शान्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुस्पा कुमारी डिसीले वन डढेलोका कारण वनजंगलमा हुनसक्ने सम्भावित क्षति रोक्नका लागि समुदाय तयार रहेको बताउनुभयो । ‘अब हामी चुप बस्दैनौं, हाम्रो जंगल हामी आफैँले जोगाउनु पर्छ भन्ने भावना अहिले समुदायमा विकास भएको छ’ उहाँले भन्नुभयो ‘डढेलो लाग्नै नदिन के गर्ने, यदी डढेलो लागेमा कसरी निभाउने, कसरी सुरक्षित रहने भन्ने बारेमा नागरिकलाई जानकारी दिएका छौँ, हामी धेरै सजग भएका छौं ।’

बन्गाड कुपिण्डेमा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धन वहादुर सिंहले सल्लाप्रजातीका रुख धेरै भएकाले आफ्नो वनक्षेत्र आगलागीको बढी जोखिममा रहेको भएपनि समुदायलाई सचेत बनाउदैँ आगलागी हुनबाट जोगाएको बताउनुभएको छ । ‘हाम्रो समुदाय यसबारेमा सचेत नै छ, तर छिमेकी वनमा लागेको आगोले गर्दा हामीलाई केही जोखिम बढाएको छ’ उहाँले भन्नुभयो ‘सचेत हुदाहुदै कहिकतैबाट आगलागी भैहाल्यो भनेपनि तत्काल नियन्त्रण गर्न समिति तयार नै छ ।’

प्रत्येक वर्ष चैतदेखि जेठसम्मको समयमा सल्यानका ग्रामिण भूभागमा डढेलो लाग्ने क्रम दोहोरिइरहेको छ । जिल्लाका विभिन्न सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु विस्थापित हुने, जैविक विविधता नष्ट हुने, माटोको उब्जाउपन घट्ने र मानिसको जीवनसमेत जोखिममा पर्ने गरेको छ । वन डिभिजन कार्यालय सल्यानका अनुसार यस वर्ष मात्रै हालसम्म दर्जन बढी स्थानमा डढेलो लागिसकेको छ ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले जिल्लामा रहेका सामुदायिक वन, राष्ट्रिय वन, कवुलियती वन र निजि वन क्षेत्रमा हुनसक्ने आगलागीका घटनामा कमी ल्याउनका लागि सचेतीकरण, गोष्ठी, छलफल, प्रचारप्रसार लगाएतका कार्य सञ्चालन गर्दै आएको बताउनुभएको छ ।‘ आगलागी हुन नदिन हामीले तत्परताका साथ काम गरिरहेका छौँ, आगलागी गराउने व्यक्ति वा समुह पत्ता लागेमा कानुनी कारवाही पनि गर्छाै’ उहाँले थप्नुभयो ‘वन जोगाउन हामी लागेका छौँ, बढ्दै गएको खडेरीको बेला पानी परेकाले केही राहत महशुस भएको छ ।’

यस्तै डढेलोको उच्च जोखिम भएका स्थानहरूको पहिचान, पूर्वतयारी, तत्काल प्रतिक्रिया र पुनःस्थापनाका बारेमा समेत योजना बनाएर काम भैरहेको उहाँको भनाइ छ । ‘जिल्लाको कालिमाटी सबैभन्दा धेरै डढेलोको जोखिममा छ, त्यसपछि बन्गाड कुपिण्डे दोस्रोमा पर्छ’ उहाँले भन्नुभयो ‘यस पटक समुदायकै नेतृत्वमा डढेलो नियन्त्रण अभियान अघि बढेको छ, जुन सम्पूर्ण जिल्लाका लागि उदाहरणीय बन्न सक्छ, वन संरक्षणमा समुदायको सहभागिता अभूतपूर्व छ ।’

बागचौर नगरपालिका प्रमुख जनकराज गौतमले वन डढेलो रोकथामसँगै जैविक विविधता संरक्षणका लागि विरुवा रोप्ने अभियानलाई नगरले प्राथमिकता दिने बताउनुभयो । ‘डढेलो नियन्त्रणका लागि स्थानीय तहको भूमिकालाई सशक्त बनाउँदै लगिरहेका छौं, कुनै पनि वन क्षेत्रमा धुवाँ वा आगो देखिए तुरुन्तै नगरलाई जानकारी गराउने र तत्काल टोली खटाउने व्यवस्था मिलाइएको छ’ उहाँले भन्नुभयो ‘अझ नगरपालिकाले जन्म र मृत्यु दर्ता गर्न वडा कार्यालय आउँदा अनिवार्य विरुवा रोपेको फोटो लिएर आउनुपर्ने योजनाका बारेमा पनि छलफल गरिरहेका छौँ ।’

बन्गाड कुपिण्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथोकीले वनजंगलको संरक्षण भनेको हाम्रो जीविकोपार्जन, स्वास्थ्य र भविष्यको सुरक्षा हो भन्ने बुझाइ अहिले समुदायमा फैलिएकोले वन डढेलोबाट जोगाउन समुदायनै तयार रहेको बताउनुभयो । ‘हामीले वनलाई नियन्त्रणमा राख्न नभई बहुउपयोग गर्न खोजेका छौँ, स्थानीय वन ऐन जारी गर्ने सन्दर्भमा छलफल भैरहेको छ, असारमसान्त सम्म सबै सामुदायिक वनलाई नगरमा सुचिकृत हुन भनेका छौँ’ उहाँले भन्नुभयो ‘समुदायको माग र आवश्यकताका आधारमा दीर्घकालीनरूपमै वनको सुरक्षा सुनिश्चित गर्ने गरि काम गर्छौ ।’

स्कुले तहबाटै वन संरक्षणको शिक्षा, ग्रामीण भेगमा बायो ग्यास जस्ता वैकल्पिक ऊर्जा स्रोतको प्रयोग, डढेलोको अध्ययन तथा विश्लेषणमा लगानी र चेतनामूलक कार्यक्रम नै यस समस्याको स्थायी समाधान हुने सरोकारवालाको बुझाई छ ।

 

प्रतिक्रिया दिनुहोस