शारदा नगरपालिकामा शैक्षिक भेला

सल्यान, ४ बैशाख ।
सल्यानको शारदा नगरपालिकामा शैक्षिक क्षेत्रको समग्र विकास र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि शैक्षिक भेला सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा बुधवार त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङमा सम्पन्न भेलामा नगरभित्र रहेका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक संघ लगाएत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

शैक्षिक भेलामा बोल्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले शिक्षा समाजको मेरुदण्ड भएको उल्लेख गर्दै नगरपालिकाले गुणस्तरीय शिक्षा प्रवाहका लागि आवश्यक नीतिगत तथा भौतिक पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले शिक्षकहरूलाई शैक्षिक अनुशासन र नवप्रविधिमैत्री शिक्षण प्रविधिको प्रयोगमा लाग्न आग्रह गर्नुभयो । बिद्यालयमा चाहिने वजेट लगाएतका आवश्यक सहयोग गर्न नगर तयार रहेको उहाँको भनाइ छ ।

उहाँले शिक्षामा सबै बालबालिकाको समान सहभागिता, बालमैत्री वातावरण, अपांगता अनुकूल विद्यालय तथा स्थानीय पाठ्यक्रमको विकासका विषयमा जोड दिएको बताउनुभयो । ‘शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले मात्रै समुन्नत शैक्षिक वातावरण सिर्जना गर्न सकिन्छ, नगरले शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक बनाउन खोजिरहेको छ, यस्तो अवस्थामा सिक्ने, टिक्ने र बिक्ने जनशक्ति उत्पादनमा सबैले साथ दिन आवश्यक छ’ उहाँले भन्नुभयो ।

यस्तै पतन्जली योग समितिका केन्द्रिय अध्यक्ष लभदेव मिश्रले विद्यार्थीको शारीरिक मानसिक र शैक्षिक बिकासका लागि शैक्षिक क्रियाकलाप संगै योगलाई पनि जोड्न सुझाव दिनुभएको थियो । नगरपालिकाका प्रवक्ता एवम् शारदा नगरपालिका–११ का वडाअध्यक्ष राजेश कुमार शर्माले शैक्षिक भेलाले शिक्षक तथा अभिभावकबीच सहकार्य र समझदारी बढाउने बिश्वास व्यक्त गर्नुभयो । उहाँले शैक्षिक सुधारका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि, विद्यार्थीमैत्री पठनपाठन र विद्यालयको उत्तरदायित्व वृद्धि गरिने प्रतिबद्धता पनि जनाउनुभयो ।

शैक्षिक भेलामा प्रधानाध्यापक तथा शिक्षकहरुले विद्यालयमा भौतिक संरचनाको अभाव, पाठ्यपुस्तक ढिलो आउने समस्या, शिक्षक दरबन्दीको असमान वितरण तथा शिक्षक अभाव, बिद्यार्थी संख्या कम हुदैँ जानु, तालिमको अभाव जस्ता विविध समस्याहरू उठान गरेका थिए । साथै उनीहरूले नगरपालिकाको शैक्षिक नीति निर्माण लगाएत शिक्षाका क्षेत्रमा गरिने सबै कार्यमा शिक्षकहरूको सहभागिता गराउनुपर्ने र शैक्षिक कार्यक्रमहरूमा व्यवहारिकता थप्न सुझाव समेत दिएका थिए ।

यस्तै जिल्लास्तरीय शिक्षाविद्, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शारदा नगरपालिकालाई शिक्षाक्षेत्रमै अग्रणी बनाउने दिशामा भेलाबाट संकलित सुझाव र सिफारिसहरूलाई नीति निर्माणमा समावेश गर्न सुझाव दिएका थिए ।

भेलामा शारदा नगरपालिका उपप्रमुम सुस्मिता सापकोटा सुनार, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख लिलाधर बबाल लगाएतको सहभागिता रहेको थियो । शैक्षिक भेलाबाट प्राप्त सुझाव र छलफललाई यसै शैक्षिक वर्षको कार्ययोजनामा समावेश गरिने नगरपालिकाले जनाएको छ । यसैबीच नगरपालिकाको शैक्षिक क्यालेन्डर नगरप्रमुख भण्डारीले विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस