
सल्यान, ६ बैशाख ।
शिक्षकको आन्दोलनका कारण सल्यानका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ । यहाँका शिक्षकहरू काठमाडौंकेन्द्रित प्रदर्शनमा सहभागी हुँदा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि निष्क्रिय जस्तै बनेका हुन् । प्रदर्शनका कारण कतिपय बिद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन रोकिएको छ भने सबै बिद्यालयमा बिद्यार्थी भर्नासँगै पठनपाठन प्रभावित बनेपछि अभिभावक चिन्तित बनेका छन् ।
भर्ना अभियानको समयमा विद्यालयका शिक्षक प्रदर्शनमा सरिक हुँदा बालबालिकाको भविष्यमा नकारात्मक असर पार्ने चिन्ता बढेको अभिभावक धनवीर केसीले बताउनुभयो । ‘बिद्यार्थी भर्ना कहिले खुल्ने हो हामी अन्यौलमा छौँ, निजी विद्यालयले धमाधम विद्यार्थी भर्ना चलाइरहेको देख्दा हाम्रो मन आत्तिएको छ,’ उहाँले भन्नुभयो ‘सामुदायिक विद्यालयमा कहिलेबाट भर्ना सुरु भई कक्षा सञ्चालन हुने हो ? यो विषयमा हामी अभिभावक चिन्तित छौँ, बिद्यालय शिक्षा ऐनका बारेमा शिक्षक चिन्तित हुनुहुन्छ ।’
जिल्लाकै केही बिद्यालयले भने अझै वार्षिक परीक्षाको नतिजा अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरेका छैनन् । पछिल्ला वर्षमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आकर्षिक भएका यहाँका विद्यार्थी तथा अभिभावकलाई अहिले चलिरहेको शिक्षक प्रदर्शनका कारण निराशा बनाएको छ । निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने तयारीमा रहेका कतिपय विद्यार्थी विद्यालयको शैक्षिक गतिविधि रोकिँदा अन्यौलमा परेका छन् ।
बिद्यार्थी भर्नामात्रै रोकिएको छैन्, बिद्यार्थीलाई भनेर खरिद गरेका पाठ्यपुस्तक पनि बिद्यालयमै थन्किएका छन् । हिजोआज धमाधम बिद्यार्थी भर्ना गरेर नयाँ पाठ्यपुस्तक बिद्यार्थीको हात–हातमा पु¥याउनुपर्ने बेलामा नयाँ शैक्षिकसत्र सुरु नहुदैँ बिद्यालयमा आएका पुस्तक पनि त्यसै थन्किएका छन् । जसले गर्दा बिद्यार्थीहरु पठनपाठनका कार्यमा सरिक हुन पाएका छैनन् ।
छत्रेश्वरी गाउँपालिका–५ पाखापानीमा रहेको महेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक रोमहर्ष केसीले शिक्षक आन्दोलनका कारण बिद्यार्थी भर्नासँगै नयाँ पाठ्यपुस्तक वितरण कार्य रोकिएको बताउनुयो । ‘बिद्यालय बन्द जस्तै छ, शिक्षकका माग सम्बोधन नहुदासम्म शिक्षक कर्मचारी नियमित काममा फर्किने अवस्था छैन्, हामीले चैत १९ गतेनै बार्षिक परिक्षाको नतिजा सार्वजनिक गरेका हौँ, त्यो बाहेकका अरु काम अघि बढ्न सकेको छैन्’ उहाँले भन्नुभयो ।
कपुरकोट गाउँपालिका–५ रिममा रहेको जीवनज्योति नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक भुपाल साहुले बिद्यालयले सञ्चालन गर्ने सबै शैक्षिक क्रियाकलाप रोकिएको बताउनुभयो । ‘त्यो बेला नै हामीले सुचनापाटीमा टाँस गरेर बार्षिक नतिजा प्रकाशन गरेका हौ, त्यसयता हाम्रा कुनै पनि शैक्षिक क्रियाकलाप भएका छैनन्, बिद्यार्थी भर्ना गरेर पाठ्यपुस्तक वितरण गर्न पाए हुन्थ्यो भन्ने लागेकै हो, तर सरकारले हाम्रो मागलाई बेवास्ता गर्दा नियमित कार्यमा फर्किन समस्या भएको छ’ उहाँले भन्नुभयो ‘म पनि आन्दोलनकै लागि काठमाण्डौँ आएको छु ।’
बिद्यालयमै थन्किए पाठ्यपुस्तक
विगतमा शैक्षिकसत्र सुरु भएको महिनौँसम्म पनि बिद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको थिएन् । यस बर्षभने शैक्षिकसत्र सुरु हुनुअघि नै बिद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । बिद्यालयले भर्ना हुनसक्ने बिद्यार्थी संख्याको आंकलन गरेर नयाँ पाठ्यपुस्तक खरिद गर्ने गरेका छन् । यसपटक जिल्लाका सबै बिद्यालयमा पाठ्यपुस्तक पुगिसकेका छन् । तर बिद्यालय सुनसान छन् । अभिभावक आफ्ना बालबालिकालाई भर्नाका लागि बिद्यालयसम्म लिन सकेका छैनन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सल्यानले जिल्लाका प्रायः सबै बिद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । विगतका बर्षको तुलनामा यस बर्ष केही कम पुस्तक आयात भएपनि ठ्याक्कै कति पुस्तक जिल्लामा आएभन्न सक्ने अवस्था नगरेको उसले जनाएको हो । तर छिटफुट बाहेक सबै पुस्तक बिद्यालयहरुमा पुगेको महासंघको भनाइ छ ।
झण्डै ६५ हजार बिद्यार्थी भर्नाको पर्खाईमा
शिक्षकको आन्दोलनका शैक्षिक गतिविधि रोकिदा जिल्लाभरका करिब ६५ हजार बिद्यार्थी बिद्यालय भर्नाको पखाईमा रहेका छन् । अघिल्लो शैक्षिसत्रमा जिल्लाभरका सबै बिद्यालयमा ६५ हजार ९ सय ४५ बिद्यार्थी बिद्यालयमा भर्ना भएका थिए । यसशैक्षिक सत्रमा पनि सोही हाराहारीमा बिद्यार्थी भर्ना हुने आँकलन गरिएको छ । तर बिद्यार्थी भर्ना अझै सुरु हुन सकेको छैन् । जिल्लाभरमा ४३९ वटा सामुदायिक र ५१ वटा निजि बिद्यालय सञ्चालनमा रहेका छन् ।
अभिभावकलाई पनि आफ्ना बालबच्चा कहाँ लगेर भर्ना गर्ने भन्ने पिरलोले सताएको छ । विद्यालय सञ्चालन नहुदा बालबालिका घरमा खेल खेल्ने, मोबाइल, टीभीमा व्यस्त हुन थालेको अर्का अभिभावक कमल रावतले बताउनुभयो । खुसी मुद्रामा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय जाने बेला बालबालिका यतिबेला घरमा बसेर, खेलेर समय बिताउने गरेको उहाँको भनाइ छ ।
बिद्यार्थीभर्ना सँगै पठनपाठन सुरु गर्न आग्रह
जिल्लाका स्थानीय तहले भने भर्ना अभियानसँगै पठनपाठनका क्रियाकलाप सञ्चालन गर्न आग्रह गरेका छन् । शारदा नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख लिलाधर बबालले बिद्यार्थी भर्ना अभियानलाई सफल बनाउदैँ पठनपाठन सुचारु गर्न आग्रह गरिएको बताउनुभयो । ‘बैशाख १ गतेदेखी ७ गतेसम्म बिद्यार्थी भर्ना अभियान सञ्चालन हुन्छ, भर्ना सँगै पाठ्यपुस्तक उपलब्ध गराई बैशाख ८ गतेबाट सबै बिद्यालयमा नियमित पठनपाठन सुचारु गर्न सुचना जारी गरेका छौँ’ उहाँले भन्नुभयो ।
‘यो बेला बिद्यार्थी भर्ना गरेर हातमा पाठ्यपुस्तक उपलब्ध गराउने बेला हो, तर अझै पनि भर्ना अभियान सुचारु भएको छैन्, कतिपय बिद्यालयको त नतिजा नै सार्वजनिक भएको छैन्, यसले गर्दा अभिभावक र बिद्यार्थीमा अन्यौलता छ’ कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले भन्नुभयो ‘सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र छलफल गरेर जायजमाग सम्बोधन गर्दै तत्कालै बिद्यालयमा फर्किने अवस्था सिर्जना गर्नुपर्दछ ।’