सल्यान, ८ बैशाख ।
सल्यानमा सञ्चालित दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको पाँचौँ खेलमा कुमाख गाउँपालिका विजयी भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा जारी अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको सोमबार दिउँसो सम्पन्न खेलमा कालिमाटी गाउँपालिकालाई ५४ रनले हराउदैँ कुमाख गाउँपालिका विजयी भएको हो ।
लुहापिङ खेलमैदानमा कालिमाटीले टस जितेर पहिले फिल्डिङ रोजेपछि कुमाखले ब्याटिङ गरेको थियो । कुमाख गाउँपालिकाले सचिन विकको अर्धसतकमा २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । जसमा सचिन एक्लैले ६१ बलमा ७८ रन बनाउनुभयो । यस्तै सुरज बुढाथोकीले १३ रन र बालकृष्ण गिरी १० रनमा नटआउट रहनुभयो । कालिमाटीका कुमार केसीले ४ ओभरमा १४ रन दिदैँ २ विकेट लिनुभयो । यस्तै निमकान्त केसी, भिमसेन खत्री र रोहित भण्डारीले समान १/१ विकेट लिनुभयो ।
१३६ रनको लक्ष्य पछ्याएको कालिमाटी १८ ओभर ३ बलमा अलआउट हुदैँ ८१ रनमा समेटियो । कालिमाटीका रोषण केसीले टिमका लागि सबैभन्दा धेरै २३ बलमा २४ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन् । रोहित भण्डारीले ११ तथा संगित केसीले ८ रन वनाएपनि अरु ब्याटर क्रिजमा टिक्न सकेनन् । कालिमाटीलाई सस्तैमा समेट्ने क्रममा कुमाखका कुशल डाँगीले ४ ओभरमा मात्र ७ रन दिदैँ ३ विकेट लिनुभयो । यस्तै बिष्णु वलीले २ तथा सुरज बुढाथोकी, जेनिश बुढाथोकी र सुमन भँडेलले समान १/१ विकेट लिनुभयो ।
यस प्रतियोगितामा हालसम्मकै धेरै रन बनाउने कुमाखका सचिन विक प्लेयर अफ द म्याच बन्नुभयो ।