सल्यान, ९ बैशाख ।
सल्यानमा सञ्चालित दोस्रो शारदा मेयर न्यु एयर टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको सातौँ खेलमा शारदा नगरपालिका विजयी भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा जारी अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको मंगलबार दिउँसो सम्पन्न खेलमा कालिकाटी गाउँपालिकालाई ६ विकेटले हराउदैँ शारदा नगरपालिकाले अपराजित यात्रा जारी राखेको हो ।
लुहापिङ खेलमैदानमा कालिमाटीले टस जितेर ब्याटिङ रोजेको थियो । तेस्रो ओभरको समाप्तीसम्म विना विकेटको क्षतिमा २८ रन जोडेर राम्रो सुरुवात गरेको कालिमाटी खराव प्रर्दशनका कारण १६ ओभर ५ बलमा अलआउट हुदैँ ७८ रनमा समेटियो । कालिमाटी लागि पोषण केसीले २३ बलमा १७ रन जोडेपनि अरु ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । बिष्णु चौधरी र रोषण केसी समान १०/१० रनमा आउट हुनुभयो ।
कालिमाटीलाई सस्तैमा समेट्ने क्रममा शारदाका सन्दिप गन्धर्भले ४ ओभरमा ११ रन दिदैँ ४ विकेट लिनुभयो । यस्तै दिपक गन्धर्भले ३ ओभर ५ बलमा १९ रन खर्च गर्दै ४ विकेट लिनुभयो भने आशिष सिंहले २ विकेट लिनुभयो । ७९ रनको सामान्य लक्ष्य पछ्याएर ब्याटिङ थालेको शारदाले ११ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै ८० रन बनायो ।
कालिमाटीलाई सस्तैमा समेट्न राम्रो बलिङ गर्नुभएका दिपक गन्धर्भले बिस्पोटक ब्याटिङ गर्नुभयो । उहाँले २४ बलमा ३६ रन बनाउँदै नटआउट रहनुभयो । यस्तै सजन सिंहले १३ तथा रोहित हमालले ४ रन जोड्नुभयो । कालिमाटीका प्रमोद पुनले ३ ओभरमा १४ रन दिदैँ ३ विकेट लिनुभयो । यस्तै कुमार केसीले १ विकेट लिनुभयो । समान २/२ खेल खेलेका शारदा दुबै खेलमा विजयी हुदाँ कालिमाटी भने जीत विहीन छ ।
यस खेलमा उत्कृष्ट बलिङ र ब्याटिङ गरेका शारदाका दिपक गन्धर्भ प्लेयर अफ द म्याच घोषित हुनुभयो ।