स्यानीखालमा लिफ्ट प्रविधिले पु¥यायो राहत : ‘अब पानी खोज्दै कुवा जानु पर्दैन’

‘अब पानी भर्न कुवामा डेढदुई घण्टा ओहोरदोहोर गर्नु पर्दैन, घरमै धारा छ, यो सपना झैँ लाग्छ’ उहाँले खुसी ब्यक्त गर्दै भन्नुभयो ‘पहिले त चैत बैशाखमा पानीका दुःख हुन्थे, बिहानै उठेर पानी ल्याउन कुवा जानुपथ्र्यो, कुवामा जान वित्तिकै पानी पाइन्थेन् ।’

सल्यान, १६ बैशाख ।
बिहानको पहिलो घाम लाग्दै गर्दा लेकटाकुराकी इन्द्रा बुढा मगर आफ्नो आँगन अगाडिको धारामा बाल्टिन राख्दै हुनुहुन्थ्यो । कुवाबाट डोकोमा गाग्री बोकेर पानी ल्याउने दिन अब सकिएको उहाँको भनाइ छ । ‘अब पानी भर्न कुवामा डेढदुई घण्टा ओहोरदोहोर गर्नु पर्दैन, घरमै धारा छ, यो सपना झैँ लाग्छ’ उहाँले खुसी ब्यक्त गर्दै भन्नुभयो ‘पहिले त चैत बैशाखमा पानीका दुःख हुन्थे, बिहानै उठेर पानी ल्याउन कुवा जानुपथ्र्यो, कुवामा जान वित्तिकै पानी पाइन्थेन् ।’

उहाँ मात्र होइनन्, यहाँका सयौं घरधुरी नागरिकका अनुहारमा अहिले स्वच्छ पानीको धारासँगै अनुहारमा खुसी बगिरहेको छ । वर्षौंसम्म कुवातिर ओरालो झर्दै, गाग्री बोकेर पहाड चढ्नुपर्ने पीडा उनीहरूले बिर्सिएका छैनन् । तर अब त्यो विगत हो । स्यानिखालमा लिफ्ट प्रविधिमार्फत पानी पुगेपछि उनीहरूको जीवनशैलीमा आमूल परिवर्तन आएको छ । खानेपानीको अभावले यहाँका बासिन्दाले विगतमा भोगेको दुःख असंख्य छ ।

लिफ्ट प्रविधिमार्फत शारदा नदि किनारको पानी गाउँमै आइपुगेपछि उनीहरूलाई पुस्तौँको प्यास मेटिएको अनुभव भइरहेको छ । स्यानिखालका अर्का स्थानीय लक्ष्मी कवर पनि उत्साहित देखिनुहुन्छ । ‘पुस्तौँदेखि पानीकै लागि दुःख पाउँथ्यौं, पानीले जीवन सहज बनाउँछ भन्ने कुरा अब बल्ल बुझिएको छ’ उहाँले भन्नुभयो ‘त्यो बेला दुई–तीन गाग्री पानी ल्याउन घण्टौँ समय लाग्थ्यो, कुवामा पालो पर्खनै पथ्र्यो, पानीको मात्रा कम हुन्थ्यो, पानीकै लागि भनाभन सम्म हुन्थ्यो ।’

विगतमा खानेपानीको अभावले स्थानीयको शिक्षा, स्वास्थ्य, कृषि सबै प्रभावित भएको थियो । ‘बिहानैदेखि पानीका लागि हिंड्नुपर्ने भएकाले छोराछोरी स्कूल जान ढिलो हुन्थ्यो, मान्छेले पिउने, कपडा धुने, सरसफाइको उचित व्यवस्था थिएन्, करेसाबारी सिँचाइ हुन नसक्दा त्यसै सुक्थे, दैनिक जीवनमा पानीको हाहाकार नियति बनेको थियो’ उहाँले भन्नुभयो ‘घरमै धारा आएपछि अहिले सहज भएको छ ।’

कुल ५ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको ‘शारदा बृहत खानेपानी तथा सरसफाइ लिफ्ट आयोजना’ ले गाउँको अनुहारै बदलिदिएको छ । करिब ८ सय मिटर तल मोखला स्थित शारदा नदि किनारको मुलको पानी लिफ्ट प्रविधि प्रयोग गरी माथिल्लो बस्ती स्यानिखालसम्म पु¥याइएको हो । यो आयोजना ‘एक घर, एक धारा’ नीतिअन्तर्गत अगाडि बढाइएको छ ।

स्यानीखालका ४९५ घरधुरीमा धारा पु¥याउने लक्ष्य राखिएकोमा हालसम्म ३६५ घरमा पानी पुगेको शारदा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तुल्सीराम रावतले जानकारी दिनुभयो । ‘हामीले करिब २ बर्षको अवधिमा काम अन्तिम चरणमा लगेका छौँ, धारा नपुगेका बाँकी घरमा पनि चाँडै जडान गरिसक्छौँ’ उहाँले भन्नुभयो ‘सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउनु हाम्रो कर्तब्य हो ।’ शारदा नदिबाट तीन लिफ्ट गरेर गाउँमा पानी लगिएको उहाँको भनाइ छ ।

शारदा नगरपालिका–१३ का वडाअध्यक्ष जंग बहादुर बुढा मगरले यस आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नका लागि मर्मतसम्भार लगाएतका कार्यमा विशेष जोड दिने बताउनुभयो । ‘मुख्यतः नागरिकको घरसम्म पानी लैजानु हाम्रो दायित्व थियो, त्यो काम सफल भएको छ, लिफ्ट योजना भएकाले यो केही खर्चिलो हुन्छ, यसलाई दिगोरुपमा सञ्चालन गर्नका लागि मर्मतसम्भार कोष नै बनाएर भैपरी आउने समस्याको समाधान गर्छौ’ उहाँले भन्नुभयो ।

‘स्यानिखालका बासिन्दा बिहान धारा खोल्छन्, पानी आउँछ, त्यो पानीमा वर्षौँको प्यास, परिश्रम र प्रतीक्षाको मिठास मिसिएको हुन्छ, अब गाउँमा पानी छ, र पानीसँगै नयाँ सम्भावनाहरू बग्न थालेका छन्’ उहाँले थप्नुभयो ‘अव यसलाई बर्षौसम्म कसरी टिकाउने भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित भएको छ ।’

लिफ्ट योजनाको जिल्लास्तरबाट अनुगमण

यस खानेपानी आयोजनाको जिल्लास्तरबाट अनुगमण गरिएको छ । अनुगमणका क्रममा हालसम्म भएका कार्यप्रगतिको समिक्षा तथा निरिक्षण गर्दै बाँकी घरधुरीमा छिटो पानी पुर्याउने व्यवस्था मिलाउन सुझाव दिइएको छ । यस्तै यसको दिगो व्यवस्थापनमा जोड दिन भनिएको छ । संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको मौलिक हक सुनिश्चित गरेको छ । संघीय र प्रदेश सरकारको साझेदारीमा यस योजना सञ्चालन भएको हो

अनुगमणमा प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, शारदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, निमित्त जिल्ला समन्वय अधिकारी निम बहादुर वली, खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालयका प्रमुख अनुप श्रेष्ठ लगाएतको टोलीले काकाकुल बस्तीमा सरकारको करोडौँ लगानी र नागरिकले श्रम गरेर खानेपानी विस्तार गरेकाले यसको दिगो उपयोग गर्न सुझाव दिनुभयो ।

घरमा प्रयोग गरि बचेको पानीलाई खेर नफाली करेसाबारीमा प्रयोग गर्न अनुगमणकर्ताको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस