सल्यान, १६ बैशाख ।
‘गरौँ योग, रहौँ निरोग’ भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै सिद्धकुमाख गाउँपालिकामा निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ । सिद्ध कुमाख गाउँपालिकाको आयोजना तथा पतञ्जली योग समिति र युवा नेपाल समिति सल्यानको समन्वयमा निराजन माध्यमिक विद्यालय ढोरचौरको प्राङ्गणमा मंगलवारदेखि निःशुल्क योग विज्ञान शिविर सुरु भएको हो ।
गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतको सभाध्यक्षता एवम् अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो । उद्घाटनका अवसरमा मन्तव्य दिंदै अध्यक्ष गिरीले योगले व्यक्ति र समाज दुवैको स्वास्थ्य र समृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि स्वास्थ्य र जीवनशैलीमा सुधार ल्याउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरूलाई थप विस्तार गरिने जानकारी दिनुभयो ।
आजको व्यस्त जीवनशैली र निरन्तर तनावका कारण मानिसमा विभिन्न मानसिक र शारीरिक समस्या देखा पर्न थालेका छन्, यस्ता समस्याको समाधान योग विज्ञानमा छ, हाम्रो गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता ज्ञानमूलक र व्यवहारिक शिविरहरू सञ्चालन गर्दै आएको हो, योग भनेको केवल व्यायाम होइन, यो जीवन पद्धति हो, योगले अनुशासन, समर्पण र आत्मनियन्त्रण सिकाउँछ, यस्तो कार्यक्रमले गाउँका बालबालिका, युवा, महिला र वृद्धवृद्धा सबैमा चेतना र ऊर्जा भरिदिने विश्वास लिएको छु उहाँले भन्नुभयो ।
शिविरमा पतञ्जली योग समिति कर्णाली प्रदेशका पूर्वक्षेत्र संयोजक बसन्त शर्मा मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिइरहनु भएको छ । भोलिदेखि समिति केन्द्रका सदस्य लोकनाथ खनाल पनि प्रशिक्षकको रूपमा सहभागी हुनेछन् । पाँच दिनसम्म सञ्चालन हुने उक्त शिविरमा विभिन्न योग आसन, प्राणायाम, ध्यान तथा योगसम्बन्धी जीवनशैलीका विषयमा प्रशिक्षण दिइनेछ ।
योग विज्ञान शिविर बिहान ५ वजेदेखी ७ वजेसम्म सञ्चालन हुन्छ । शिविरमा स्थानीय बासिन्दाहरू, विद्यालयका शिक्षक–विद्यार्थी तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त शिविरमा सहभागिहरूले स्वास्थ्य लाभको अनुभूति गरिरहेको बताएका छन् ।