
सल्यान, १७ बैशाख ।
पाँच बर्ष अघि रूकुम पश्चिमको सोतीमा नवराज विक सहित ६ जना युवकलाई सामुहिक हत्या गरिएको घटनाको मुद्धामा उच्च अदालत सुर्खेतले गरेको फैसला विरुद्ध सल्यानको खलंगामा विरोध प्रदर्शन गरिएको छ । दलितको लागि दलित अभियान सल्यानको आयोजनामा अभियान्ताहरूले बुधबार दिउँसो सल्यान सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेका हुन । उनीहरूले उच्च अदालत सुर्खेतका न्यायाधी द्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारी विरुद्ध नारावाजी समेत गरेका छन् ।
पाँच बर्ष अघि २०७७ जेठ १० गते रूकुम पश्चिमको सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा गाउँलेहरूले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेका थिए । उक्त मुद्धामा डेढ बर्ष अघि जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले थुनामा रहेका २४ जनालाई जन्मकैद र जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको उक्त फैसला विरुद्धको पुनरावेदन मुद्धामा उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासले मंगलबार फैसला गर्दै जन्मकैद सदर र जातीय छुवाछूतको सजाय बदर गरेको थियो ।
जातीय छुवाछूतकै कारण भएको उक्त घटनाबारे अदालतले फैसला गर्दा जातीय छुवाछुत सम्बन्धि सजाय नै बदर गरेर दलित माथी पुनः अन्याय गरेको भन्दै अभियान्ताहरूले विरोध जनाएका छन् । उनीहरुले जातकै आधारमा गरिने विभेद सैह्य नहुने बताएका छन् । विरोध प्रदर्शनमा बोल्दै दलित अभियान्ताहरु प्रेमनारायण विक, प्रकाश नेपाली, खेमराज स्वर्णकार, धन बहादुर विश्वकर्मा, नोखिराम थापा लगाएतले बोल्दै विरोध प्रदर्शनमा दलित कम देखिएपनि यसले दलित एकताको सन्देश दिएको बताउनुभएको छ । साथै सोती घटना भएको पाँच बर्ष पुगेको अवसरमा संघीय राजधानी काठमाण्डौँमा एक लाख दलितकर्मी उतारेर दलितमाथि भएका गलत कार्यको विरोध गर्न जनाइएको छ ।