‘अब सपना होइन, अवसरको बाटो’

अहिले मोटरबाटो, बिजुली, लिफ्ट खानेपानी सबै गाउँमै पुगेको छ । यो केवल एउटा गाउँको कथा होइन, विकटताले पछि परेको हजारौं गाउँको आवाज हो । खज्जर अनुरुद्र अब ‘बिकट’ होइन, बदलिँदो सम्भावना र अवसरको प्रतीक बन्न थालेको छ ।

सल्यान, ३० वैशाख ।

सल्यानको त्रिवेणी गाउँपालिकास्थित खज्जर अनुरुद्रका स्थानीयको दशकौँ देखिको सपना हँसिलो यथार्थमा बदलिएको छ । ‘विकट’ भनेर चिनिँदै आएको यो बस्तीमा पहिलोपटक मोटरबाटो पुगेको छ, जसले केवल सडक मात्र हैन, गाउँको भविष्यलाई पनि नयाँ दिशा दिएको छ । पूर्वाधार विकासले पछि परेको यहाँका बस्तीमा मोटर गुड्ने सडक बनेपछि नागरिक खुसीले गद्गद् बनेका छन् ।

त्रिबेणी गाउँपालिकाको कोलचौरखोला, कोलचौर, खज्जर, अनुरुद्र हुदैँ दाङ जोड्ने नयाँ सडक निर्माण भएपछि नागरिक खुसी भएका हुन् । भ्याटवाहेक १ करोड ३८ लाख ९३ हजार ८०० बोलपत्र भएकोमा निशान बिआर जेभिले भ्याटवाहेक ६८ लाख ३ हजार ३१८ रुपैँयामा ठेक्का सम्झौता गरेको थियो । जसमा संघीय सरकार र गाउँपालिको आधा–आधा लगानी गरेका छन् । २०८० सालको फाल्गुन ३ गते शिलान्यास गरिएको सडकको निर्माण सम्पन्न भई अब कोलचौर खज्जरसम्म सवारीसाधन पुग्न थालेका छन् ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले यस सडकको उद्घाटन गर्दै नागरिकमा विकासको अनुभूति हुने गरि गाउँपालिकाले काम गर्दै आएको बताउनुभयो । ‘चुनावमा भोट माग्दा यहाँका जनतालाई गरेको बाचा आज पुरा भएको छ, विकासका हिसावले निकै पछि परेको यस क्षेत्रमा सडक पुग्नु आफैँमा चूनौती थियो, त्यो चूनौतीलाई सामना गर्दै गाउँपालिकाले सडक विस्तार गरेको छ’ उहाँले भन्नुभयो ‘अव विकासका अन्य काम पनि हुन्छन् ।’

उहाँले सडक विस्तारले गाउँलाई बजारसँग जोडेको बताउनुभयो । ‘अव सामान किनमेल गर्न होस् या घरमा उत्पादन भएको सामाग्री बेच्न होस् बजारसम्मै जानुपर्दैन्, गाडीहरु गाउँमै आउँछन्, यसले बस्तुको लागत र समय दुबैको वचत भएको छ’ उहाँले थप्नुभयो । यस सडक भएर पश्चिम दाङको हापुरे जोड्न सहज हुने छ । सल्यानको सिमानासँग सडक पुगेको छ भने दाङतिरबाट आउने सडक सिमानासम्म आउन केही किमि मात्रै बाँकी छ ।

गाउँलेको अनुहारमा चमक

मोटरबाटो उद्घाटन कार्यक्रममा सहभागी भएका स्थानीयवासीको अनुहारमा खुसी छर्लङ्गै देखिन्थ्यो । पहिला सामान्य उपभोग्य सामान ल्याउनै दिनभरको समय लाग्ने खज्जरबासीका लागि अहिले केही घण्टामै काभ्रा बजार पुग्न सकिने अवस्था बनेको छ । स्थानीय गंगाराम खत्री भन्नुहुन्छ ‘पहिले बजार जान दिनभर लाग्थ्यो, अब केहि घण्टामै पुगिन्छ, अब त गाउँमै केही व्यापार गर्न सकिने आशा पलाएको छ ।’

अर्का स्थानीय जित बहादुर केसीले गाउँमा विकास नहुँदा कैयौं परिवार पलायन हुन बाध्य भएको पीडा सुनाउनुभयो । ‘कति परिवार दाङ झरे, कति काभ्रा, तर अहिले लिफ्ट खानेपानी, बिजुली र मोटरबाटो घरसम्म आएको छ, अब गाउँमा बस्न सकिने वातावरण बनेको छ, अव सुख खोज्दै बसाई सर्नुपर्दैन्’ खुसी हुदैँ उहाँले थप्नुभयो ‘गाउँमा सुख मिलेको छ, खुसी थपिएको छ ।’

 

बाटोले खोल्यो विकासको ढोका

कोलचौर खज्जरजस्ता दुर्गम बस्तीमा पूर्वाधार विकास हुनु केवल यातायातको सुविधा मात्रै होइन् । यो शिक्षा, स्वास्थ्य, बजार र रोजगारीजस्ता धेरै सवालसँग गाँसिएको मुद्धा हो । स्थानीय सुरेन्द्र रोका भन्नुहुन्छ ‘हामीलाई विकास चाहिएको थियो, विकास नहुदा हामीले कष्टकर जीवनयापन गर्दै आएका थियौँ, स्थानीय सरकार आएपछि आफैंले पनि नसोचेको विकास भयो ।’

उहाँको कुरा गाउँमा देखिएको परिवर्तनसँग मेल खान्छ । अहिले मोटरबाटो, बिजुली, लिफ्ट खानेपानी सबै गाउँमै पुगेको छ । यो केवल एउटा गाउँको कथा होइन, विकटताले पछि परेको हजारौं गाउँको आवाज हो । खज्जर अनुरुद्र अब ‘बिकट’ होइन, बदलिँदो सम्भावना र अवसरको प्रतीक बन्न थालेको छ ।

जनप्रतिनिधि देखी व्यावसायिसम्मको योगदान

यस मोटरबाटोको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, वडा नम्बर १ का अध्यक्ष दल बहादुर बस्नेत, निर्माण व्यवसायी डिल्ली केसी लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । जनप्रतिनिधि देखी व्यावसायि सम्मको योगदानका कारण गाउँमै सडक पुगेको भन्दै स्थानीयले फूलमालाले स्वागत गरे ।

गाउँपालिका उपाध्यक्ष पुनले यो सडक स्थानीयको मागअनुसार निर्माण भएको बताउँदै आगामी दिनमा अझ ठूला पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत केसीले यस सडकलाई अझ सुधार गर्दै लैजानको लागि गाउँपालिकाले आवश्यक वजेटको व्यवस्था गर्ने बताउनुभयो । वडा अध्यक्ष बस्नेतले ‘ढिलो भए पनि बाटो सिमानासम्म पुगेको’ भन्दै खुसी व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस