
सल्यान, १ जेठ ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष प्रकाश ज्वालाले तीनै तहका सरकारमा पारदर्शिता र उत्तरदायित्वयुक्त शासन व्यवस्थाको खाँचो औंल्याउँदै कार्यकर्तालाई स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिनुभएको छ । बिहिवार सल्यानको छत्रेश्वरी गाउँपालिकामा आयोजित पार्टीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टी संगठन, सुशासन, पारदर्शिता र जनताको जीवनस्तरमा सुधार ल्याउने दीर्घकालीन लक्ष्यबारे स्पष्ट धारणा राख्नु भएको हो ।
उपाध्यक्ष ज्वालाले भन्नुभयो ’हामी जनताको दल हौं, हाम्रो प्राथमिकता सधैं जनताको हित र सेवामा केन्द्रित रहनुपर्छ। राजनीति सत्ता प्राप्तिको माध्यम होइन, सेवा र परिवर्तनको शुद्ध बाटो हो ।’ उहाँले अहिले सरकारमा पारदर्शिता र उत्तरदायित्वयुक्त शासन व्यवस्थाको खाँचो रहेको बताउनुभयो । ’शासन भनेको केवल नारामा होइन, व्यवहारमा देखिनुपर्छ, विकास योजनाहरूको कार्यान्वयनमा पारदर्शिता र जनसहभागिता अनिवार्य हुनुपर्छ’ उहाँले भन्नुभयो ।

ज्वालाले ग्रामीण भेगमा समेत आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो ’सस्तो लोकप्रियताको पछि नलागौं, टिकाउ विकास र न्यायपूर्ण समृद्धि हाम्रो लक्ष्य हो ।’ उहाँले पार्टीलाई जनस्तरमाझ ल्याउन गाउँ–गाउँमा जनसम्बन्ध सुदृढ पार्नुपर्ने बताउनुभयो । अधिवेशनलाई अवसरको रूपमा लिएर कार्यकर्ताले आत्मसमीक्षा र आगामी कार्यदिशा तय गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भद्रसिंह बुढाले सर्वहारा वर्गको उत्थान र मुक्ति तथा सुशासन र पारदर्शिता कायम हुने गरि पार्टीले काम गर्दै आएको बताउनुभयो ।

यस्तै पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज शारदा परियारले पार्टीलाई सवल र सक्षम बनाउनको लागि नेतृत्व देखि कार्यकर्तासम्मै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै पार्टीका केन्द्रिय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्ज हरी केसीले केन्द्र देखि स्थानीय तह सम्म भएका गलत र ब्यक्तिवादी कार्यको पार्टीले खुलेर बिरोध गर्दै सुशासन कायम गर्न जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै पार्टीका जिल्ला अध्यक्ष रमेशकुमार गौतमले पार्टीलाई पालिकादेखि टोल बस्ति सम्म सशक्त र चलायमान बनाउन अधिबेशन तथा भेला, सभा, गोष्ठी लगाएतका कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला कमिटी सचिब प्रेम बहादुर डाँगी, अखिल नेपाल महिला संघ समाजवादीका जिल्ला अध्यक्ष हिरा चन्द, समाजवादी प्रेससंगठन नेपाल सल्यानका अध्यक्ष पुन लगाएतले बोल्नु भएको थियो । पार्टीका गाउँ कमिटी अध्यक्ष गोबिन्द केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा याम बहादुर पुनले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रेम केसीले गर्नु भएको थियो ।

पालिका अध्यक्षमा पुन चयन
छत्रेश्वरीमा सम्पन्न अधिवेशनले याम बहादुर पुनको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा सुरेश डाँगी, सचिबमा प्रेम भण्डारी र उपसचिबमा द्वय यमुना खड्का र नेव बहादुर केसी रहनु भएको छ । यस्तै नन्दा नेपालीको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला समाजवादी गठन गरिएको छ । जसको उपाध्यक्षमा कल्पना खड्का र सचिबमा तारिका बिक रहनु भएको छ ।
