सल्यान, २ जेठ ।
सल्यानको सिद्धकुमाख गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी पालिका स्तरीय अन्तरक्रिया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, सुर्खेतको आयोजनामा बिहीबार गाउँपालिकाको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत गिरीले स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पु¥याउने उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले राष्ट्रप्रति जिम्मेवारीका साथ पारदर्शिता र नितिविधिको पालना गर्दै काम गर्नुपर्ने बताउनुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले भ्रष्टाचारले व्यक्तिको प्रतिष्ठा र राष्ट्रको लगानी दुवैमा क्षति पु¥याउने हुँदा सबैजना सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिदैँ भ्रष्टाचार रोक्न नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा सहभागीहरूले आफ्ना जिज्ञासा तथा गुनासा राख्दै अख्तियारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।
सहभागीबाट उठेका प्रश्नहरूको जवाफ दिदै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले उजुरीहरू कुनै पनि माध्यमबाट गर्न सकिने र उजुरी प्राप्त भएपछि त्यसको गहिरो अध्ययन गरेर मात्र निर्णय गरिने जानकारी दिनुभयो । साथै, सल्यानका स्थानीय तहहरुसंग सम्बन्धित उजुरीको विवरण प्रस्तुत गर्दै सिद्ध कुमाख सबैभन्दा कम (एक वटा) मात्रै उजुरी पर्ने स्थानीय तहको सुचीँमा रहेको तथ्य समेत प्रस्तुत गर्नुभएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका उपसचिव मंगलबहादुर शाहीले कार्यक्रमका दौरान भ्रष्टाचारसम्बन्धी विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । उहाँले भ्रष्टाचारको अवधारणा, कारण, कानुनी प्रक्रिया, अख्तियारको कार्यप्रणाली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था, भ्रम र वास्तविकता लगायतका पक्षमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, वडाअध्यक्ष, विभिन्न शाखाका कर्माचारी लगाएतले आफ्नो सान्दर्भिक भनाइ राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीय नागरिकका उल्लेख्य सहभागिता रहेको थियो ।