सल्यान, २ जेठ ।
जिल्लाको कपुरकोट गाउँपालिका–५, रिमस्थित जीवनज्योति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । यस विद्यालयले स्व.मणि स्मृति अक्षयकोषबाट प्राप्त रकमबाट अध्ययन गर्दै आएका २६ जना उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार वितरण गरेको हो । स्व.मणि पुनका छोराहरु पुरभान पुन, डम्बर पुन, दुर्गाबहादुर पुन र छोरी डिला महताराको पहलमा २०७३ सालमा स्थापना गरिएको यस अक्षयकोषमा हाल ४ लाख ६ हजार रकम रहेको छ ।
सोही कोषको व्याजबाट प्रत्येक वर्ष वार्षिक परीक्षामा उत्कृष्ट नतिजा निकाल्ने प्रत्येक कक्षाका एक–एक जना छात्रछात्रालाई झोला, कपी, कलम र प्रमाणपत्र प्रदान गरिँदै आएको छ । २०७३ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको सम्मान कार्यक्रममा यस वर्ष पनि स्व.मणि पुनको १० औं वार्षिक पुण्यतिथिका अवसरमा २६ जना छात्रछात्रालाई झोला, कपी र प्रमाणपत्र प्रदान गरिएको बिद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा स्व. मणि पुनका कान्छा छोरा एवं कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । यस अवसरमा सामाजिक क्षेत्रबाट कपुरकोट गाउँपालिका–५ का वडाअध्यक्ष होमबहादुर खड्का, शिक्षा क्षेत्रबाट विद्यालयका सहायकप्रधानाध्यापक भीमसेन बिएम, पूर्वविद्यार्थी नबिन बुढा र कृषि क्षेत्रबाट देवबहादुर साहुलाई विशेष सम्मान प्रदान गरिएको छ ।
बिद्यालयमा स्थापना भएको अक्षयकोषमा सरकारी जागिर सुरुवात गरेका स्व.मणि पुनका नाति समिर पुनले पहिलो महिनाको तलव ४६ हजार जम्मा गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक भूपाल साहुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु खड्गबहादुर केसी, शिवराज विक, सल्लाहकार संयोजक भद्रसिंह बुढा, शिक्षक अभिभावक संघका अध्यक्ष तिला बुढा मगर, कपुरकोट गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश पौडेल, मणि स्मृति फाउन्डेसन तर्फबाट माहिला छोरा डम्बर पुन, बुहारी सिता खड्का पुन लगायतले मन्तव्य राख्नुभएको हो ।
कार्यक्रमको सञ्चालन विद्यालयका सहायकप्रधानाध्यापक खर्कसिंह बोहराले गर्नुभएको हो ।