सल्यान, ४ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले सामन्ती सोच र भ्रष्ट प्रवृत्तिविरुद्ध जनताको संघर्ष अझ सशक्त रूपमा अगाडि बढ्ने बताउनुभएको छ । आइतबार सल्यानको शारदा नगरपालिकामा सम्पन्न नगरस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्वालाले जनताले शान्ति, स्थायित्व र समृद्धिको सपना देखेको भन्दै त्यो सपना साकार पार्न पार्टीको प्रमुख दायित्व रहेको बताउनुभयो । ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा अडिग छौं’ ज्वालाले भन्नुभयो ‘संविधानले दिएको अधिकारलाई व्यवहारमा लागू गर्न हामी प्रतिवद्ध छौं, तर केही शक्तिहरू अझै पनि पुरानो शासनतन्त्र फर्काउने सपना देखिरहेका छन्, तिनीहरूलाई जनताले चिनेका छन्, र अब क्षमा गर्ने छैनन् ।’
प्रतिनिधिसभा सदस्य समेत रहनु भएका नेता ज्वालाले समावेशी लोकतन्त्र र समाजवादी उन्नतिको दिशामा नडगमगाई अघि बढ्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उहाँले विकास र सामाजिक न्यायको पक्षमा स्पष्ट धारणा राख्दै भन्नुभयो ‘राज्य जबसम्म सबै नागरिकप्रति उत्तरदायी हुँदैन, तबसम्म समृद्धि सम्भव छैन् ।’ उहाँले सबैलाई एकताबद्ध भई भ्रष्टाचारविरुद्धको लडाइँमा जुट्न आह्वान गर्नुभयो । ‘हामीले एकता, विचार र सङ्घर्षको बाटोबाट मात्रै समाजवादको लक्ष्य प्राप्त गर्न सक्छौं’ उहाँले भन्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भद्रसिंह बुढाले पार्टीलाई जिवन्त राख्न सबै नेताकार्यकर्ता एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै पार्टीका केन्द्रिय सदस्य लोक बहादुर डाँगीले राजनीतिलाई समाज परिवर्तन र सुधारमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । यस्तै पार्टीका केन्द्रिय सदस्य हरि केसीले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको हितमा काम गर्नुपर्ने भएपनि केहि स्वार्थवादी व्यक्तिका कारण नागरिकले सास्ती खेप्दै आएको बताउनुभयो ।
यस्तै केन्द्रिय सल्लाहकार परिषदका सदस्य दामोदर शर्माले पार्टीलाई जनस्तरमाझ ल्याउन गाउँ–गाउँमा जनसम्बन्ध सुदृढ पार्नुपर्ने बताउनुभयो । यस्तै निवर्तमान जिल्ला कमिटी अध्यक्ष राम खड्कीले समाजवादी पार्टीलाई सानो र कमजोर नठान्न चुनौती दिदैँ पार्टीप्रति बढेको जनलहर उत्साहजक रहेको बताउनुभयो । यस्तै पार्टीका जिल्ला कमिटी अध्यक्ष रमेशकुमार गौतमले सरकारले गरेका गलत कार्यको खबरदारी र भण्डाफोर गर्दै जनतालाई सूसुचित गर्न तथा पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य इश्वरी बुढाथोकी, रोमप्रकाश थापा, दुर्गा बहादुर पुन, सिपि वली, पुर्वप्रदेश कमिटी सदस्य टोप बहादुर थापा, जिल्ला कमिटी उपाध्यक्ष कल्पना सेजवाल, सचिब प्रेम बहादुर डाँगी, उपसचिव मनबिर बस्नेत, अखिल नेपाल महिला संघ समाजवादीका अध्यक्ष हिरा चन्द, बुद्धिजिवी परिषदका अध्यक्ष सुर्य शर्मा, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मोहनलाल बुढाथोकी, नेकपाका नगर संयोजक प्रकाश सि लगाएतले बोल्नु भएको थियो ।
पार्टीका नगर कमिटी अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपसचिव शान्ता नेपालीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिब पर्शु नारायण गौतमले गर्नुभएको थियो ।
नगर अध्यक्षमा तिरुवा
अधिवेशनले डम्बरसिंह तिरुवाको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नगर कमिटि सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्ष शान्ता नेपाली, सचिवमा पर्शुनारायण गौतम तथा उपसचिवमा हेमराज थापा र विर बहादुर डाँगी रहनुभएको छ । सोही अवसरमा अखिल नेपाल महिला संघ समाजवादी पनि गठन गरिएको छ ।
यसैविच कार्यक्रममा नेकपा एमाले छोडेर केहि नेताकार्यकर्ताले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जसमा नेकपा एमाले निकट व्यापार संगठनका केन्द्रिय सदस्य मोहन बुढाथोकी र एमाले नेता मित्रलाल बस्नेतले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।