सल्यान, १२ जेठ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले शारदा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोमबार महासंघको जिल्ला शाखाले नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा सुनार तथा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । ध्यानाकर्षणपत्रमा पत्रकारिता क्षेत्रको मर्यादा, सूचना पाउने अधिकार तथा लोककल्याणकारी विज्ञापनसम्बन्धी मुद्धाहरूमा गम्भीर चासो व्यक्त गरिएको छ ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार नागरिकलाई समयमै सूचना उपलब्ध गराउनुपर्ने संवैधानिक दायित्वप्रति बेवास्ता गरिएको भन्दै महासंघले विभिन्न स्थानीय निकाय र कार्यालयहरूले वेबसाइट अद्यावधिक नगर्ने, सार्वजनिक सुनुवाइ नगर्ने, सूचना बोर्डहरूको प्रयोग नगर्ने तथा सूचना माग्दा आलटाल गर्ने प्रवृत्ति हटाउन ध्यानाकर्षण गराएको छ । त्यस्तै, सामाजिक सञ्जालमा सार्वजनिक पदधारण गरेका व्यक्तिहरूले पत्रकारिताको मर्म विपरीत अभिव्यक्ति दिने प्रवृत्तिप्रति पनि महासंघले आपत्ति जनाएको छ ।
महासंघले लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिता नहुनु तथा स्थानीय सञ्चारमाध्यममा यस्ता विज्ञापनको पहुँच कमजोर हुनुका कारण स्थानीय सञ्चारमाध्यमहरू आर्थिक रूपले कमजोर भएको उल्लेख गरेको छ । विज्ञापन वितरणको स्पष्ट कार्यविधि तय गर्न र स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन अनुरोध गर्दै, समन्वय र सुधारका प्रक्रियामा महासंघ सदैव सहकार्य गर्न तत्पर रहेको महासंघले जनाएको छ ।
ध्यानाकर्षण पत्र बुझाउदै महासंघका जिल्ला अध्यक्ष डिल्ली राज रावतले सूचनाको हक सुनिश्चित गर्न, पत्रकारिताको मर्यादा कायम राख्न र स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख भण्डारीले पत्रकारितालाई मर्यादित र व्यवस्थित गर्ने सन्दर्भमा महासंघले उठाएका सवाल सान्दर्भिक भएको र नगरपालिकाले गर्नुपर्ने समन्वय तथा सहकार्यमा सदैव तयार रहेको बताउनुभयो । समाजलाई सकारात्मक दिशामा अघि बढाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
ध्यानाकर्षण पत्र बुझाउन नेपाल पत्रकार महासंघका जिल्ला सचिव बुद्धि पुन, कोषाध्यक्ष खकेन्द्र केसी, प्रदेश परिषद सदस्य नोखिराम थापा लगाएत विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।