सल्यान, १३ जेठ ।
पत्रकारिता केवल सूचना सम्प्रेषणको माध्यम मात्रै नभई सामाजिक रूपान्तरणको शक्तिशाली औजार भएको सल्यानमा आयोजित एक कार्यक्रमको वक्ताहरुले बताएका छन् । पत्रकारको कलमले जनचेतना जगाउने, अन्यायविरुद्ध आवाज उठाउने र नयाँ विचारको मार्ग खोल्ने उनीहरुले बताएका हुन् । नेपाल पत्रकार महासंघ, सल्यानले शहिद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा मंगलबार आफ्नै सभाहल खलंगामा आयोजना गरेको ‘पत्रकारिता, विचार र परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता मार्फत विचार निर्माण र परिवर्तनको जग हाल्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
शहिद कृष्ण सेन इच्छुकको स्मरण गर्दै उनीहरूले जिम्मेवार, विवेकी र परिवर्तनमुखी पत्रकारिताको आवश्यकता पनि औंल्याएका छन् । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा पूर्व मन्त्री टेक बहादुर बस्नेतले विचार र उद्धेश्यविहीन पत्रकारिता दीर्घकालीन रूपमा समाजका लागि हानिकारक हुने बताउनुभयो । ‘पत्रकारिताको माध्यमबाट इच्छुकले समाज परिवर्तनको आधार तयार गर्नुभयो’ बस्नेतले भन्नुभयो ‘आज पनि कलम धारिलो हुनुपर्छ, तर सत्य र न्यायको पक्षमा ।’ यस्तै जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले पत्रकारिता र स्थानीय शासनबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै लोकतन्त्र सुदृढ बनाउन पत्रकारहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य सनत कुमार शर्मा, नेकपा एमालेका उपसचिव गणेशमान सिंह, नेकपा माओवादी केन्द्रका संयोजक मान बहादुर मल्ल, रास्वपाका सभापति प्रकाश नेपाली, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य सिपि वली, नेकपाका जिल्ला इन्चार्ज मोहनलाल चन्द, नेपाल पत्रकार महासंघ सल्यानका पुर्वअध्यक्ष प्रतिक इच्छुक शर्मा, अधिवक्ता बिष्णु शर्मा लगाएतले बोल्दै शहिद इच्छुकको योगदानलाई स्मरण गर्दै उहाँको विचार, कलम र परिवर्तनको अभियानलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिव डाँगीले स्वागत मन्तव्य राख्नुभएको थियो । महासंघका जिल्ला सचिव बुद्धि पुनले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष खकेन्द्र केसीले इच्छुकको जीवन, योगदान र पत्रकारिताका बिषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्ययमा आवद्ध पत्रकार तथा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।