विपद सँग जुध्ने रणनिति : शारदा नगरपालिकाका आवासीय घरहरुको ‘निःशुल्क बिमा’

नगरपालिकाभित्रका करिब १० हजार घर बिमा कार्यक्रममा समावेश हुने आँकलन गरिएको छ ।

सल्यान, १६ जेठ ।
सल्यानको शारदा नगरपालिका भित्र रहेका आवासीय घरहरुको निःशुल्क बिमा गरिने भएको छ । कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘घर बिमा’ कार्यक्रमअन्तर्गत शारदा नगरपालिकाले आफ्ना नगरवासीका आवासीय घरहरूको निःशुल्क बिमा गर्ने भएको हो । प्रदेशको घर बिमा कार्यक्रममा नगरपालिका छनोट भएपछि चालुआर्थिक वर्षभित्र व्यवसायिक प्रयोजन बाहेकका सबै आवासीय घरहरूको अधिकतम २० लाख रुपैयाँसम्मको निःशुल्क बिमा गरिने भएको छ ।
यसका लागी आवश्यक कागजी प्रक्रिया पूरा गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका करिब १० हजार घर बिमा कार्यक्रममा समावेश हुने आँकलन गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले सबै वडा कार्यालय र स्थानीयवासीलाई सक्रियता साथ घर बिमा कार्यक्रममा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

२०७८ सालको जनगणना अनुसार शारदा नगरपालिकामा ८ हजार ८ सय ९८ घरपरिवार रहेका छन् । शारदा नगरपालिकामा नेको इन्स्योरेन्स लिमिटेड सल्यानबाट घर बिमा कार्यक्रम सञ्चालन हुने छ । शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा सहित नगरपालिकाको टोली र नेको इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख रमेश राज शर्मा तथा सल्यान शाखा प्रमुख नारायण दाहाल सहितको हालै सम्पन्न बैठकले घर बिमा कार्यक्रमलाई तत्काल कार्यान्वयन सुरु गर्ने निर्णय गरिएको थियो ।

जस अनुसार यही जेठ २० गतेसम्म घरधुरी पहिचानको लागि नगरका १५ वटै वडामा सर्वेक्षकहरु परिचालन भएको शारदा नगरपालिकाका नगरप्रवक्ता राजेशकुमार शर्माले जानकारी दिनुभयो । सर्वेक्षेकले संकलन गरेको तथ्यांकका आधारमा घर मुल्यांकन हुन्छ । यसमा पक्की घर व्यावसायिक प्रयोजनमा रहेका बाहेक सबै घर समावेश हुने छन् । बसोबास गर्दै आएका तर घर ऐलानीमा भएपनि चारकिल्ला छुट्याएर घर बिमामा समाबेश गरिने छ ।

 

के–के भयो भने बीमामा समेटिन्छ ?

कार्यविधि अनुसार ९ प्रकारका विपद्बाट क्षतिग्रस्त घरहरू बीमामा समेटिने छन् । बीमा गरिएका घर भुकम्प, आगो, हावा र पानीबाट क्षतिग्रस्त भएमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, माटो खसेर, जमिन भासिएर, चट्यान परेर, विस्फोटन, आकाशीय समाग्री, धक्काजन्य, स्वजलन, बाढी तथा ढुबान, हुलदंगा लगायतका अन्य प्राकृतिक विपदका कारण क्षतिग्रस्त भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । नगरभित्रका धेरै क्षेत्र भौगोलिक दृष्टिकोणले विकट छ । जहाँ प्राकृतिक विपद्को जोखिम अत्याधिक छ । त्यसैले घर बिमाको कार्यक्रमलाई अघि सारिएको नगरपालिकाले जनाएको छ ।

शारदा नगरपालिका भित्र स्थायी बसोबास भएका नागरिकहरूको निजी आवासीय घरको प्राकृतिक विपद् लगायतका कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यसहित घर बिमा कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यविधि अनुसार स्थानीय तहले खटाएका प्राविधिक जनशक्तिबाट निजी आवासीय घरको मूल्याङ्कन गराई बीमायोग्य घरको वर्तमान मूल्य हुने गरी बीमाङ्क कायम गरिन्छ । बीमा गरिने घरको विवरण नगरपालिकाले प्रदेश सरकारले कार्यविधिमा बनाएको ढाँचा अनुसार सिफारिस गर्ने छ ।

१५ दिनभित्रै बीमा शुल्क भुक्तानी

कार्यविधि अनुसार एकाघर परिवारको एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गर्नेछ । ‘प्रदेश सरकारले प्रतिघर अधिकतम २० लाख बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनको हुन आउने बीमा शुल्क बापतको रकममात्र भुक्तानी गर्ने छ,’ कार्यविधिमा भनिएको छ, ‘२० लाखभन्दा बढी मूल्यको घर वा एकाघर परिवारको एकभन्दा बढी संख्याको घरको बीमा गराउनु पर्ने अवस्था आएको खण्डमा स्वयं घरधनीले सम्बन्धित बीमकहरूलाई अतिरिक्त बीमा शुल्क बापतको रकम उपलब्ध गराउनु पर्नेछ ।’

यदि सबै प्रक्रिया पूरा भएको खण्डमा प्रदेश सरकारले १५ दिनभित्रै बीमा रकम भुक्तानी दिनेछ । त्यसका लागि स्थानीय तहको सिफारिस र बीमकले उपलब्ध गराएको डेबिट नोट अनिवार्य चाहिने छ । सोही आधारमा मन्त्रालयले यकिन गरी १५ दिनभित्रै बीमा शुल्क रकम बीमकलाई भुक्तानी दिने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस