सल्यान, १७ जेठ ।
सल्यानको शारदा नगरपालिका ३ पौवाबारीमा रहेको खड्गदेवी आधारभूत विद्यालयमा शिक्षा र अतिरिक्त क्रियाकलापका लागि रु २,०५,५५५ को अक्षय कोष स्थापना गरिएको छ । यो कोष भैरव बहादुर श्रेष्ठ र सरस्वती श्रेष्ठद्वारा विद्यालयलाई समर्पित गरिएको हो । उक्त अक्षय कोषको स्थापनाको अवसरमा वहाँका सुपुत्र उच्च अदालत पाटनका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ तथा उहाँकी धर्मपत्नीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा विगत वर्ष रु २,१०,००० को ‘खड्गदेवी उन्नयन कोष’ स्थापना गर्ने अग्रज व्यक्तित्व सुरेन्द्र बहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
विद्यालय उन्नयनका लागि निरन्तर चिन्तनशील रहँदै आइरहनु भएकी शारदा नगरपालिका वडा नं ३ की वडा अध्यक्ष तुल्सा भण्डारी कार्यक्रमकी प्रमुख अतिथि रहनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मौसम दास श्रेष्ठले सबै किसिमका चुनौतीका बीच विद्यालयको हितका लागि अग्रसर भई नमुना बिद्यालय बनाउने अभियानमा आफुहरु लागि परेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक टिकाराम खड्काले गर्नुभएको थियो ।