सानो गाउँ, ठूलो सपना : छात्रावासबाट जन्मिंदैछन् बालबालिकाको भविष्य !

‘असारमसान्त सम्म नगरपालिका र सहयोगीदाताबाट संकलन भएको रकमले छात्रावास सञ्चालन गर्छौ, त्यसपछि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ, हामीले सहयोगीदाताहरुबाट पनि सहयोग माग्छौँ तर छात्रावासमा बस्ने बालबालिकाका अभिभावकले कुनै पनि शुल्क तिर्नुपर्दैन्’ बिद्यालय स्रोतले भन्यो ।

सल्यान, १७ जेठ ।
अभाव, पीडा, असहायता र भौगोलिक विकटताका बीच पनि जब शिक्षा उज्यालो किरण बनेर टल्किन्छ, तब बालबालिकाको भविष्य उज्यालिन्छ । जिल्लामै पहिलो पटक सल्यानको शारदा नगरपालिका–५, तल्लो मार्केमा रहेको जनकल्याण आधारभूत विद्यालयले विपन्न बालबालिकालाई शिक्षाको उज्यालो दिन भन्दै एक सराहनीय कदम चालेको छ, छात्रावास सञ्चालन । २०४६ सालमा स्थापना भएको यस बिद्यालयले हालै छात्रावास सञ्चालनमा ल्याएको हो । यस बिद्यालयमा बालविकास देखी कक्षा ५ सम्म पढाइ हुन्छ ।

यस विद्यालयले चालु शैक्षिक सत्रदेखि विशेष गरेर साहारा बिहीन, आर्थिक रुपमा अति कमजोर, वा परिवारको अभिभावकीय साथ नभएका ३० जना बालबालिकाका लागि छात्रावासको व्यवस्था गरेको छ । हालसम्म २५ बालबालिका यस छात्रावासमा बसेर पठनपाठन गर्दै आइरहेका छन् । बिद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर वलीले बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र पठनपाठनमा बालबालिकालाई सधैँ सक्रिय बनाउने हेतुका साथ छात्रावास सञ्चालन गरिएको बताउनुभयो ।

‘परिवारको आर्थिक अवस्था कमजोर हुदा प्रायः अभिभावक रोजगारीको लागि बाहिर जानुपर्ने बाध्यता छ, यस्तो अवस्थामा घरमा भएका बालबालिकाले हेरचाह, खानपिन तथा बिद्यालय पोशाक, कापिकमल नहुदा नियमित बिद्यालय नआउने समस्या व्याप्त छ, कतिपय बालबालिका दैनिक बिद्यालय नआउने, आएकापनि विचैमा कक्षा छोडेर निस्कने चलन छ, यसले उनीहरुको पढाईमा असर गरिरहेको छ’ उहाँले थप्नुभयो ‘बालबालिकाको आवश्यकता महशुस गरेर छात्रावास सञ्चालन गरिएको छ ।’

उहाँका अनुसार बालबालिका कोही आमाबाबु नभएका छन्, कतिपयलाई पालनपोषण गर्ने कोही छैन, भने कतिपय अभिभावक घरैमा भएपनि आफ्ना बालबालिकालाई साँझबिहान गृहकार्य गराउने, लेखाउने पढाउने गर्न सक्दैनन्, यस्ता अवस्था भएका बालबालिकालाई समेटेर विद्यालयले छात्रावास सञ्चालन थालेको हो । छात्रावासमा आवासको व्यवस्था, खानपानको व्यवस्था, पठनपाठनको वातावरण, स्वास्थ्य र सरसफाइ, हेरचाह र अनुशासन, सांस्कृतिक तथा अतिरिक्त गतिविधि, लुगाफाटा र आधारभूत शैक्षिक सामग्री व्यवस्था गरिएको उहाँको भनाइ छ ।

विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय समाजसेवी तथा समुदायका अगुवाहरुको सहयोगमा छात्रावासको व्यवस्था मिलाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीले समुदायकै सहयोग र लगानीमा छात्रावास सञ्चालन गरिएको बताउनुभयो । ‘हामीले आफ्नै लगानीबाट छात्रावास सञ्चालन थालेका हौँ, शिक्षक, बिद्यालय व्यवस्थापन समिति र स्थानीयले आ–आफ्नो सक्दो सहयोग गरेर यो छात्रावास सञ्चालन गरेका हौं’ उहाँले भन्नुभयो ।

‘छात्रावास केवल बास बस्ने ठाउँ होइन, जीवनशैली सिकाउने थलो पनि हो, जहाँ बालबालिकाले आत्मनिर्भरता, सहकार्य, अनुशासन र सामाजिक चेतना सिक्छन्, हाम्रो गाउँका विपन्न बालबालिकाका लागि छात्रावास शिक्षा मात्र होइन, जीवनको नयाँ यात्रा सुरु गर्ने ढोका बन्छ’ उहाँले थप्नुभयो ‘शिक्षामा केही नयाँ गर्नुपर्छ भनेर लागि परेका छौँ, दुई बर्षअघि ५ जना मात्रै बिद्यार्थी भएर बन्द हुन थालेको बिद्यालय अहिले आफ्नै छात्रावास सञ्चालन गर्नसक्ने अवस्थामा पुगेको छ, यसमा सबैको साथ र सहयोग छ ।’

बिद्यालयका शिक्षक धना रेउले, गोविन्द थापा र जानुका कुमाई छात्रावासमै बसेर बिहान र साँझ अतिरिक्त कक्षा सञ्चालन गरिरहनुभएको छ भने विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्रा रेउलेले तीन महिनासम्म बालबालिकाका लागि खाना पकाउने र सरसफाइको जिम्मा लिएको विद्यालयले जनाएको छ । हाल विद्यालयमा ७४ विद्यार्थी अध्ययनरत छन् । छात्रावास सञ्चालनसँगै ३० जना बालबालिकाले प्रत्यक्षरुपमा लाभ पाइरहेका छन् ।

बालबालिकाका अभिभावकले तिर्नुपर्दैन् शुल्क

यस छात्रावास सहयोगी दाताहरुकै लगानीमा सुरुवात गरिएको छ । एकबर्षपछि आफ्नै भवनमा सञ्चालन गर्ने गरि हाल स्थानीय गंगाराम रोकायको ६ कोठेघर भाडामा लिइएको छ । मासिक २ हजार भाडा तोकिएको भएपनि घरधनीले ६ महिनाको मात्रै भाडा लिएर बाँकी छुट गर्ने सहमति भएको छ । यस्तै बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समिति र अभिभावक संघले सक्दो सहयोग रकम उठाएर चामल, भाँडाकुडा लगाएतका सामाग्रीको व्यवस्था गरिएको छ ।

यस्तै वडासदस्य कुल बहादुर रेउलेले खाद्यान्न तथा मोहन बुढाथोकीले कापि कमल लगाएतका सामाग्री सहयोग गर्नुभएको छ । छात्रावास सञ्चालनको लागि नगरपालिकाले डेढ लाख रुपैँया उपलब्ध गराएको छ । ‘असारमसान्त सम्म नगरपालिका र सहयोगीदाताबाट संकलन भएको रकमले छात्रावास सञ्चालन गर्छौ, त्यसपछि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ, हामीले सहयोगीदाताहरुबाट पनि सहयोग माग्छौँ तर छात्रावासमा बस्ने बालबालिकाका अभिभावकले कुनै पनि शुल्क तिर्नुपर्दैन्’ बिद्यालय स्रोतले भन्यो ।

छात्रावासको मासिक खर्च करिब डेढ लाख हुने बिद्यालयले अनुमान गरेको छ ।

भविष्य निर्माणको प्रेरणादायी प्रयास  : नगरप्रमुख भण्डारी

शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले सामुदायिक विद्यालयको यस छात्रावास ‘भविष्य निर्माणको प्रेरणादायी प्रयास’ भन्दै उच्च प्रशंसा गर्नुभएको छ । विद्यालयले विपन्न र सहारा बिहीन बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन जुन सामाजिक दायित्व निर्वाह गरेको छ, त्यसले सम्पूर्ण नगरपालिकालाई गर्व गर्ने अवसर दिएको उहाँको भनाइ छ । उहाँले बिद्यालय र छात्रावासको लागि आवश्यक स्रोत व्यवस्थापनसम्म निजी तथा संस्थागत तहबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

‘सामाजिक उत्तरदायित्व, सहकार्य र संवेदनशीलताको उत्कृष्ट उदाहरण बनेको यो छात्रावास, अब विपन्न बालबालिकाका लागि केवल एउटा अस्थायी आश्रय नभई सपना बुन्ने थलो बनेको छ, जहाँ शिक्षा छ, त्यहाँ सम्भावना पनि हुन्छ भन्ने यथार्थलाई यो विद्यालयले फेरि एकपटक प्रमाणित गरेको छ’ उहाँले भन्नुभयो ‘यो छात्रावास बिद्यालय एक्लैले सञ्चालन गर्न सक्दैन्, यसको अभिभावकत्व नगरपालिकाले आफै लिन्छ ।’

छात्रावासले अभिभावकमा खुसीयाली

यस छात्रावासको उद्घाटन कार्यक्रममा शारदा नगरपालिका शिक्षा शाखा प्रमुख लिलाधर बबाल, वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप शाही, विद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमका सहभागिहरुले छात्रावासलाई सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गरेका छन् ।

स्थानीय बासिन्दा तथा अभिभावकहरू छात्रावास सञ्चालनबाट अत्यन्तै खुसी छन् । उनीहरूका अनुसार बालबालिकाले अब बिचमै पढाइ छोड्नुपर्ने बाध्यता हटेको छ । यो छात्रावास सामाजिक संवेदनशीलता, सहकार्य र समर्पणको अद्वितीय मिसाल बनेको छ, जसले विकट भेगका सामुदायिक विद्यालयहरूका लागि प्रेरणाको स्रोत बनेको छ । यस बिद्यालयमा तल्लोमार्के, हिवल्चा, निपाने, टिमुरखोला, मदाना, कैयनपानी, काठीगाउँ लगाएतका बस्तीबाट बालबालिका पढ्न आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस