सल्यान, १९ जेठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई सोमबार औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नगरपालिकाभित्रका सबै वडामा पूर्ण खोप सुनिश्चितता पुगेको औपचारिक घोषणा गरिएको हो ।
बनगाड कुपिण्डे नगरपालिका खोप समन्वय समितिको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, सम्पूर्ण वडा अध्यक्षहरू, वरिष्ठ शिक्षा अधिकृत चक्र बहादुर रावत, वरिष्ठ लेखा अधिकृत दिनेश भण्डारी, स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तथा जिल्ला खोप फोकल पर्सन ताराप्रसाद रिजाल, स्वास्थ्य शाखा प्रमुख नवीन चौधरी, पूर्व शाखा प्रमुख बासुदेव पोख्रेल, जनस्वास्थ्य निरीक्षक इन्द्रराज पोख्रेल, अधिकृत सन्तोषी रावत तथा थुप्रै स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल पार्न योगदान दिने वडा तथा स्वास्थ्य चौकीहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो । यस घोषणाले नगरपालिका भित्र बालबालिकाको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।