माटो परीक्षणपछि कृषि नीति परिवर्तनतर्फ ‘शारदा नगरपालिका’

शारदा नगरपालिकाको माटो परीक्षणले नगर क्षेत्रको अधिकांश जमिन अम्लीय प्रकृतिको भएको देखाएको छ, जसले दीर्घकालीन रूपमा कृषि उत्पादनमा नकारात्मक असर पार्न सक्छ । यस्तो अवस्थामा किसानहरूले माटोको रक्षा गर्न विविध उपायहरू अवलम्बन गर्नु आवश्यक छ । अम्लीय माटो सुधारका लागि कृषि चुनको प्रयोग प्रमुख उपाय हो, जसले माटोको सन्तुलनमा सुधार ल्याउँछ ।

सल्यान, २० जेठ ।
शारदा नगरपालिकाले कृषि सुधारको दीर्घकालीन प्रयासस्वरूप माटो परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको अगुवाइमा र सुर्खेतस्थित एकीकृत कृषि प्रयोगशालाको प्राविधिक सहयोगमा सम्पन्न परीक्षणमा नगर क्षेत्रका अधिकांश माटो अम्लीय प्रकृतिका रहेको पाइएको छ । नगर क्षेत्रका ४ सय १९ वटा माटोको नमूना परीक्षण गर्दा ३ सय ४३ नमूना अर्थात ८१.८६ प्रतिशतमा अम्लीय, ६९ तटस्थ र ७ नमूना क्षारीय प्रकृतिका रहेको पुष्टि भएको छ ।

यसले नगर क्षेत्रमा माटोको गुणस्तर दीर्घकालीन रूपमा कृषि उत्पादनमा असर पार्ने अवस्थाको संकेत गर्छ । परीक्षणपछि माटोको सुधारका लागि २ सय ३३ वटा नमूना रहेको क्षेत्रहरूमा कृषि चुन प्रयोग गर्न सिफारिस गरिएको छ । यसले देखाउँछ कि नगर क्षेत्रको झन्डै ५६ प्रतिशत जमिनमा तत्काल सुधारात्मक हस्तक्षेप आवश्यक छ । अम्लीयपन हटाउन चुनको प्रयोगसँगै प्रांगारिक मलको प्राथमिकता र रासायनिक विषादीको न्यून प्रयोग अत्यावश्यक रहेको प्राविधिकको सुझाव छ ।

परीक्षणमा माटोमा पाइने मुख्य पोषक तत्वहरूमध्ये नाइट्रोजनको अवस्था अधिकांश नमूनामा मध्यम मात्रामा देखिएको छ, भने केही नमूनामा कमी पनि पाइएको छ । ४७ नमूनामा नाइट्रोजनको मात्रा कम, ३५४ मा मध्यम र १८ मा अत्यधिक देखिएको छ । फस्फोरसको अवस्था विश्लेषण गर्दा अधिकांश नमूनामा यो तत्व धेरै मात्रामा देखिएको छ, जसमा ३ सय ४६ नमूनामा बढी, ६९ मा मध्यम र केवल ४ मा कम मात्रामा पाइयो ।

पोटासको अवस्था भने तुलनात्मक रूपमा बढी विविध देखिएको छ, जहाँ १६३ नमूनामा यो तत्वको मात्रा बढी, १४२ मा मध्यम र १४ मा कम मात्रामा पाइएको हो । यी परिणामहरूले माटोमा पोषण सन्तुलनको आवश्यकता स्पष्ट देखाउँछ, जसले उत्पादन क्षमता सुधारमा प्रत्यक्ष प्रभाव पार्नेछ । शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले माटो परीक्षणका नतिजालाई नीति निर्माण र कार्यक्रम तर्जुमा गर्न आधार बनाइने स्पष्ट पार्नुभयो । उहाँका अनुसार अबको नीति तथा कार्यक्रम माटो परीक्षणका वैज्ञानिक नतिजामा आधारित हुनेछ ।

एकीकृत कृषि प्रयोगशाला, सुर्खेतका कार्यालय प्रमुख चित्र बहादुर रोकायाले माटो परीक्षणको नतिजाले शारदा नगर क्षेत्रको माटोमा सुधारको खाँचो देखाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘माटो परीक्षणका नतिजाले देखाउँछ कि नगर क्षेत्रको ठूलो भू–भाग अम्लीय प्रकृतिको छ, जुन दीर्घकालीन रूपमा कृषि उत्पादनमा नकारात्मक असर पार्न सक्छ, यस्तो माटोमा कृषि चुनको प्रयोग, प्रांगारिक मलको प्राथमिकता र रासायनिक विषादीको न्यूनतम प्रयोग अत्यन्त आवश्यक छ ।’ उहाँका अनुसार माटोमा पोषक तत्वहरूको असन्तुलन पनि स्पष्ट देखिएको छ, जसले उत्पादन क्षमता घटाउने सम्भावना हुन्छ ।

शारदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले कृषि पकेट क्षेत्रको अवधारणाअनुसार उत्पादनशील भू–भाग पहिचान गरी वैज्ञानिक कृषि योजना तयार पारिने जानकारी दिनुभयो । ‘कृषि क्षेत्र सुधारको पहिलो कदम माटो परीक्षण हो’ उहाँले भन्नुभयो । शारदा नगरपालिकाले दीर्घकालीन रूपमा माटोको गुणस्तर सुधार गर्न तालिम, जानकारी र स्रोतसाधनमार्फत किसानलाई सशक्त बनाउने योजना अघि सारेको छ । माटो परीक्षण कार्यक्रमले नगरको कृषिमा वैज्ञानिक सोच र दीर्घकालीन रणनीतिको मार्ग प्रशस्त गरेको नगरपालिकाले जनाएको छ ।

किसानले माटोको रक्षा कसरी गर्ने ?

शारदा नगरपालिकाको माटो परीक्षणले नगर क्षेत्रको अधिकांश जमिन अम्लीय प्रकृतिको भएको देखाएको छ, जसले दीर्घकालीन रूपमा कृषि उत्पादनमा नकारात्मक असर पार्न सक्छ । यस्तो अवस्थामा किसानहरूले माटोको रक्षा गर्न विविध उपायहरू अवलम्बन गर्नु आवश्यक छ । अम्लीय माटो सुधारका लागि कृषि चुनको प्रयोग प्रमुख उपाय हो, जसले माटोको सन्तुलनमा सुधार ल्याउँछ ।

साथै, प्रांगारिक मलको प्रयोग र रासायनिक विषादीको न्यूनतम प्रयोग गर्नुपर्छ, जसले माटोमा सूक्ष्मजीवहरूको संरक्षण गर्दै उर्बरता बढाउँछ । माटो परीक्षणको नतिजाका आधारमा मात्रै मल र पोषक तत्व प्रयोग गर्नु उत्पादनशीलता बढाउने वैज्ञानिक उपाय हो । यस्ता अभ्यासले माटोको संरक्षण मात्र होइन, कृषिको दीर्घकालीन दिगोपनामा समेत टेवा पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस