शारदा नगरपालिकामा तेस्रो पढाइ मेला : बिद्यार्थीले लेखे गित, पकाए सेल र पकौँडा !

पढाइ मेलामा सहभागी अभिभावक, शिक्षक र शिक्षाप्रेमीहरूले स्टलहरूमा घन्टौं समय बिताए, सामग्री हेरे, विद्यार्थीहरूबाट जानकारी लिइरहे । सबै बिधा मिसिएको पढाइ मेलाले बालबालिकाको सोचलाई सिर्जनामा, सिर्जनालाई प्रयोगमा रूपान्तरण गरिरहेको उनीहरु बताउँछन् ।

सल्यान, २२ जेठ ।
००
कर्णालीका दश जिल्ला, गाउछु एउटा गीत !
मेरो गीतलाई राम्रोसंग सुनि देउन मित !!

एउटा रैछ कालिकोट, अर्को जाजरकोट !
सुन्दर हाम्रो सल्यानलाई, कस्ले लाउँछ खोट !!

सुर्खेत, दैलेख अनि जुम्ला, डोल्पा, मुगु, हुम्ला !
सुर्खेतको बुलबुलैमा, रुकुमेली धुम्ला !!

शैक्षिकस्तर बढाउन, पढाइ मेला लायौँ !
राम्रो काम ग¥यौ तिमील, धन्यबाद पायौँ !!

झल्को लाली ओठको !2
बाटो राम्रो बनाउनुस् है, सल्यान कपुरकोटको !!
००
दिउँसो २ वजेको थियो । महेन्द्र रत्न माध्यमिक बिद्यालय पिपलनेटामा कक्षा ७ मा पढ्ने समिक्षा वली आफैले रचना गरेको गित गाउनमा व्यस्त हुनुहुन्थ्यो । समिक्षाले आफैं रचना गरेको गीतमा कर्णालीका दश जिल्लाको नाम मात्र समेटिएको थिएन, सल्यानको कपुरकोट जस्तो अविकसित क्षेत्रमा विकासको अपेक्षा र व्यंग्य पनि थियो । भीडभित्र कतिले त दोहो¥याएर गुनगुनाउन थालेका थिए । पढाइ मेलामा राखिएको बिद्यालयको स्टलमा अनुगमण गर्न आउने सबैलाई उहाँले यही गितले स्वागत गर्नुहुन्थ्यो ।

बिद्यालयका सहायक प्रधानाध्यापक ललित पुनले विद्यार्थीले कागजी वा स्थानीयस्तरमा पाइने बस्तुबाट सामाग्री निर्माण सँगै आफ्नो सिर्जनालाई पनि पढाइ मेलामा प्रर्दशनी गरेको बताउनुभयो । ‘विगत ३ बर्षयता पढाइ मेला भैरहेको छ, कागजी र स्थानीय बस्तुको प्रयोग गरेर विभिन्न सामाग्री बनाइ प्रर्दशनी गर्ने त भैरहेको छ, कर्णालीका सबै जिल्लाकोे नाम थाहा पाउन पनि सहिलो हुने र सल्यानको मेरुदण्डको रुपमा रहेको कपुरकोटको बाटो दुरावस्थामा रहेकाले खवरदारी गर्नका लागि पनि गितले आह्वान छ’ उहाँले भन्नुभयो ‘पढाइ मेलामा बिद्यार्थीले आफ्नो रचनालाई प्रर्दशन गरेका छन् ।’

पौवाबारीमा रहेको खड्गदेवी आधारभूत बिद्यालयका बिद्यार्थी आफुले तयार पारेका शैक्षिक सामाग्री प्रर्दशनीसँगै आफैले पकाएका सेलरोटी र पकौँडा बेच्नमा व्यस्त थिए । सामाजिक बिषय अन्तर्गतको मेरो सेरोफेरो नामक पुस्तकको पेशा व्यवसाय भन्ने बिषयबस्तुलाई आधार मानेर पढेर अरु केही गर्न सकिएन भने पनि पेशा व्यावसाय गरेर जिविकोपार्जन गर्न सकिन्छ भन्ने सिकाई स्थापित गर्न बिद्यालयका बिद्यार्थी, शिक्षक र अभिभावकको सक्रियतामा बिद्यार्थीले तयार पारेका प्रर्दशनीसँगै बिक्री गरिएको हो ।

विद्यालय ब्यवस्थापन समिती अध्यक्ष मौसमदाश श्रेष्ठले विद्यार्थीहरूले पढेका कुरा व्यवहारमा उतार्न खाजा बिक्रीमार्फत पेशा व्यावसायको अभ्यास गरेको बताउनुभयो । ‘बिद्यार्थीलाई आफैं परिकार तयार गरी लागत, मूल्य र मुनाफाको हिसाब गर्न सिकाइएको छ, जसबाट अध्ययनसँगै व्यवहारिक सीपको पनि विकास भएको छ, पेसा व्यवसायका लागि आफ्नै उत्पादन गर्दा मुनाफा बढी हुने कुरा बुझाउन विद्यार्थीहरूले केही परिकार आफै बनाएका थिए’ उहाँले भन्नुभयो ‘यो अभ्यास बिशुद्ध मुनाफाका लागि नभई व्यवहारिक शिक्षाको उद्धेश्यले गरिएको हो ।’

शारदा नगरपालिकाको आयोजना र रुम टु रिड (दलित विकास समाज) को प्राविधिक सहयोगमा नगरस्तरीय तेस्रो पढाइ मेला त्रिभुवन जन माध्यमिक बिद्यालय लुहापिङ खलंगाको परिसरमा बुधबार सम्पन्न भएको छ । नगर भित्रका आधारभूत र माध्यमिक तह सहित ४२ विद्यालय सहभागी रहेको पढाई मेलामा, विद्यालयले छुट्टाछुट्टै स्टलहरुमा आफुले निर्माण गरेका शैक्षिक सामाग्रीहरु प्रदर्शनी गरेका थिए । जसमा शैक्षिक खेल, विज्ञान उपकरण, भाषिक पोस्टर, कृषि सन्दर्भको सजीव नमूना र अन्य सिर्जनात्मक सामग्रीमा थिए ।

कार्यक्रमका सहभागीहरुले विभिन्न विद्यालयले निर्माण गरेका शैक्षिक सामाग्रीहरुको अवलोकन गरेका थिए भने, उत्कृष्ठ शैक्षिक सामाग्री प्रदर्शनी गरेका विद्यालयलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहभागी अभिभावक र शिक्षकहरूले स्टलहरूमा घन्टौं बिताए, सामग्री हेरे, विद्यार्थीहरूबाट जानकारी लिइरहे । सबै बिधा मिसिएको प्रर्दशनी मेलाले बालबालिकाको सोचलाई सिर्जनामा, सिर्जनालाई प्रयोगमा रूपान्तरण गरिरहेको सरोकारवाला बताउँछन् ।

कार्यक्रममा बोल्दै निवर्तमान जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टले शिक्षाप्रतिको चिन्तन र बालबालिकाको सुनौलो भविष्य निर्माणका लागि शारदा नगरपालिकाले आयोजना गरेको पढाइ मेलाले थप बल पुग्ने बताउनुभयो । शारदा नगरपालिकाले प्रशंसायोग्य कार्य गरेको र यसलाई जिल्लाका अरु पालिकाले समेत सिको गर्नुपर्ने बताउनु भयो ।

यस्तै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले शैक्षिक सुधारका लागि पढाइ मेलाले पारेको सकारात्मक प्रभावको प्रशंसा गर्दै यसले विद्यार्थीहरूमा व्यवहारिक ज्ञानको विकासमा टेवा पु¥याएको बताउनुभयो । उहाँले विद्यालयस्तरमै यस्ता गतिविधि सञ्चालन हुँदा बालबालिकामा सीप, आत्मविश्वास र भविष्यमा जीवननिर्वाह गर्न सक्ने क्षमता विकास हुने उल्लेख गर्नुभयो । सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले यस्ता अभ्यासले बिद्यार्थीमा पढ्ने, सिक्ने र बुझ्ने क्षमताको विकास गर्ने बताउनुभयो । पढाइ मेलालाई बर्षेनी निरन्तरता सँगै परस्कृत गर्दै लैजाने उहाँको भनाइ छ ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, जिल्ला समन्वय अधिकारी राजन घिमिरे, प्रमुख सेनानी कृष्णचन्द्र ढकुल्ला, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपाने, शसस्त्र प्रहरी नायव उपरीक्षक यज्ञरथ थापा, अनुसन्धान प्रमुख नेव बहादुर राना लगायत विभिन्न सरकारी निकायका प्रमुख, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार तथा शिक्षाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबालले गर्नुभएको थियो ।

पढाइ मेलामा सहभागि भई विभिन्न स्थान प्राप्त गर्ने बिद्यालय र बिद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस