सल्यानमा विविध कार्यक्रमसहित विश्व वातावरण दिवस मनाइयो

सल्यान, २३ जेठ ।
‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ सल्यान जिल्लामा विभिन्न स्थानमा विविध कार्यक्रम गरी २०८२ सालको विश्व वातावरण दिवस भव्य रुपमा मनाइएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजनामा शारदा नगरपालिका–५, रानीकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा करिब दुई सय रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेतीको सुरुवात गरिएको छ। रानिकोट एग्रो इन्डस्ट्रीले सञ्चालन गर्न लागेको उक्त कफी खेती क्षेत्रको शुरुवातसँगै वातावरणीय सन्देश बोकेको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख अशबिर बुढाथोकी, डिभिजनल वन अधिकृत टेक बहादुर रावल, वडा अध्यक्ष प्रदीप शाही लगायतको उपस्थिति रहेको थियो ।

कपुरकोट गाउँपालिका क्षेत्रमा समेत वातावरण दिवस विशेष कार्यक्रम गरियो । वनस्पति अनुसन्धान केन्द्र सल्यान, कपुरकोट सबडिभिजन वन कार्यालय, बजार व्यवस्थापन समिति, स्थानीय विद्यालय, वित्तीय संस्था तथा आम नागरिकको सहभागितामा कपुरका विरुवा रोपणसहित सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो । कार्यक्रम बिहान ७ बजे कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सुरु भई मुख्य बजार क्षेत्र हुँदै मूलपानी बजारसम्म सरसफाइ गरिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो । प्रमुख वन अधिकृत मुकुन्द पौडेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अभियानको प्रभावकारिता उल्लेख गर्नुभयो । उक्त कार्यक्रमकै निरन्तरतामा, गत वर्ष निर्माण सुरु गरिएको ग्रीन बेल्ट जोन—जसअन्तर्गत करिब ४ किमी क्षेत्रफलमा कपुर, मलागिरी, काफल, गुराँस, रुद्राक्ष, तेजपात जस्ता बिरुवाको वृक्षारोपण गरिएको थियो—त्यसको पनि उद्घाटन वातावरण दिवसकै अवसरमा गरिएको थियो ।

छत्रेश्वरी गाउँपालिका वडा नं. ५ बागबजारमा ‘प्लाष्टिक प्रदूषणको समाधानः एकसाथ अघि बढौं’ भन्ने नाराका साथ वास इकाईको आयोजनामा, आइ एम स्वीडीस डेभलपमेन्ट पार्टनर र दलित विकास समाज सल्यानको सहकार्यमा विविध कार्यक्रम सम्पन्न भए । वडा अध्यक्ष फौद बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरसफाइ र्याली, फोहर संकलन तथा व्यवस्थापन, डस्टविन वितरण गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले वातावरण संरक्षणका लागि प्लास्टिक प्रयोग घटाउन, वन र पानीका स्रोतको संरक्षण गर्न तथा जनचेतना फैलाउन सबैलाई आग्रह गरे । कार्यक्रममा वडासदस्य तुलसा नेपाली, दलित विकास समाज सल्यान परियोजना संयोजक गुमानसिहं नेपाली वास परियोजना सामाजिक परिचालक हरीकला विष्ट लगाएतको सहभागिता रहेको थियो ।


विश्व वातावरण दिवसका अवसरमा सल्यान जिल्लामा देखिएको व्यापक जनसहभागिता र वातावरणमैत्री कार्यहरुले वातावरण संरक्षणप्रति नागरिकको चासो र प्रतिबद्धता झल्किएको छ ।

प्रतिक्रिया दिनुहोस