सल्यानी समाज दक्षिण कोरियाको सहयोगमा बिद्यार्थीलाई पोशाक वितरण

सल्यान, २४ जेठ ।
सल्यानको त्रिवेणी गाउँपालिका–५, ढोरचौरस्थित गायत्री प्राथमिक विद्यालयका ३७ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गरिएको छ । शुक्रवार सल्यानी समाज दक्षिण कोरिया द्वाराविद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यनरत ३७ जना विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक वितरण गरिएको हो ।

बिद्यार्थीलाई पोशाक वितरण गर्दै त्रिवेणी गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले विदेशमा रहेर पनि दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक उन्नयनका लागि समाजले देखाएको सक्रियताको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगम बिहानीले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा योगदान पु¥याएकाले सल्यानी समाजलाई धन्यवाद दिदैँ समाजले विपद्का बेला सल्यानमा पु¥याउँदै आएको सामाजिक योगदानको पनि प्रशंसा गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक क्षेत्र बहादुर बिकले पोशाक वितरणले अभिभावकको आर्थिक बोझ घटाएको बताउँदै समाजप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा पूर्वविद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर बिक लगायतले बोल्नुभएको थियो । विद्यालयका शिक्षक लिला बिकको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक याम बहादुर सुनारले गर्नुभएको थियो । पोशाक पाएपछि विद्यार्थीहरूले आफूलाई आत्मविश्वासी र विद्यालयप्रति झन् नजिकिएको महसुस गरेका छन् । उनीहरूले नियमित रूपमा विद्यालय जान उत्साह बढेको बताएका छन् ।

सल्यानी समाज दक्षिण कोरियाले यस वर्ष सल्यान जिल्लाभरी गरी करिब ३ लाख रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक सामग्री निशुल्क वितरण गरेको जनाएको छ । दुर्गम क्षेत्रका विद्यालयहरूमा पुगेर समाजले विद्यार्थीहरूको शैक्षिक अवसर बढाउने कार्यमा सक्रियता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस