सल्यानमा विपद् पूर्वतयारी तीव्र

वर्षायामको सक्रिय महिनाहरू असार र साउनमा भारी वर्षा, पहिरो, बाढी र डुबानको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन र जोखिम देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित कार्यालयलाई तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ ।

सल्यान, २४ जेठ ।

बर्खायाम सुरु भएसँगै सल्यानमा विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यको पूर्वतयारीमा तीव्रता देखिएको छ । विगतका वर्षहरूमा वर्षासंगसँगै आएको बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट मानव जीवन र सम्पत्तिमा ठूलो क्षति भएको अनुभवका आधारमा यस वर्ष समयमै सावधानी अपनाउने उद्देश्यले स्थानीय तहदेखि सुरक्षानिकायसम्म सक्रिय भएका छन् । जिल्लामा विपद उद्धार अभ्यास देखी रणनितिक योजना निर्माणमा सरोकारवाला सक्रियताका साथ अघि बढेका छन् ।

जिल्ला सुरक्षा समन्वय समितिको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा जिल्लामा वर्षायाम सुरु हुनुअघि नै विपद् उद्धारसम्बन्धी अभ्यास सुरु गरिएको छ । जिल्लाको सदरमुकाम खलंगामा अनौपचारिक अभ्यासमा बाढी, पहिरो वा गहिरो खोँचबाट मानिसको उद्धार गर्न आवश्यक सीपको प्रशिक्षण लिएको छ । बिशेषगरी जिल्लामा पहिरोको जोखिम, पहिरो जानुअघि अपनाउनुपर्ने सावधानी, पहिरो गइसकेपछि गर्नुपर्ने उद्धार खोज तथा राहतका सन्दर्भमा विभिन्न अभ्यास मार्फत सर्तकता अपनाइनुका साथै नागरिकलाई पनि सचेत रहन भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समन्वय समितिका संयोजक सावित्रा पुनले जिल्लामा यस बर्षको मनसुनमा हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यको पूर्वतयारीमा लागिसकेको बताउनुभएको छ । ‘जेठको पहिलोसाता नै जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीय ज्युहरुसँगको संयुक्त बैठक बसेर मनसुन प्रतिकार्य योजना तयारी पारि अघि बढ्ने निर्णय भएबमोजिम विभिन्न कार्यहरु भैरहेका छन्, स्थानीय तहलाई पनि सक्रियता अपनाउन भनिसकेका छौँ’ उहाँले भन्नुभयो ‘जिल्लाबाट र पालिकाबाट एकसाथ विपद्का पुर्वतयारी भैरहेका छन् ।’ उहाँले जिल्लामा भएको र स्थानीय तहमा भएको विपद पछिको खोज तथा उद्धारका सामाग्रीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

‘उद्धार कार्यमा दक्ष बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभ्यास पनि गरिएको छ, अभ्यासमा रक क्लाइम्बिङ, विशेष डोरी र सुरक्षा उपकरणको प्रयोग, आपतकालीन संचार व्यवस्थापन, समन्वयात्मक कार्यशैली लगायतका अभ्यास गरिएको छ, यसले पनि सुरक्षाकर्मीलाई ताजकीय बनाएको छ’ उहाँले थप्नुभयो ‘सकेसम्म घटना हुनैनदिने र यदी भैहालेमा उत्काल खोज तथा उद्धारका कार्य सञ्चालन हुने छन् ।’ सवारीसाधन सञ्चालन हुने सडकमा बर्षाको पानी कटान तथा नाला मर्मत र खाल्डाखुल्डी पुरेर सहज आवतजावतको व्यवस्था गर्न निर्देशन दिइएको उहाँको भनाइ छ ।

जिल्लाका स्थानीय तह पनि पालिकास्तरको विपद्को बैठक बसेर प्रतिकार्य योजना बनाउने कार्यमा व्यस्त वनेका छन् । शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारीले विपदबाट वच्न नागरिकलाई सचेत बनाउनुका साथै वर्षातमा हुन सक्ने सम्भावित विपद् न्यूनीकरणका लागि सक्रियताका साथ लागिएको बताउनुभयो । पालिकामा भएका विपदप्रतिकार्य सामाग्री तयारी अवस्थामा राख्ने र वडातहसम्म रेडक्रस लगाएतका विपदमा सक्रिय विभिन्न निकायसँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाइ छ ।

कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले पालिकामा विपदको बैठकबसी बाढी, पहिरो र भूक्षयबाट जोगिन पूर्वतयारीका उपायहरू अपनाउन आह्वान गरिएको बताउनुभयो । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गर्दै उहाँले नदी, खोला र नालामा माछा मार्ने, पौडी खेल्ने, दाउरा संकलन गर्ने कार्य नगर्न समेत अनुरोध गर्नुभएको छ । साथै, मनसुन अवधिभर नयाँ संरचना निर्माण र भारी उपकरण प्रयोग नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

वर्षायामको सक्रिय महिनाहरू असार र साउनमा भारी वर्षा, पहिरो, बाढी र डुबानको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन र जोखिम देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित कार्यालयलाई तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस