सल्यान, २५ जेठ ।
सल्यानको शारदा नगरपालिका र बागचौर नगरपालिकालाई विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको छ । सुरक्षित मातृत्व संजाल महासंघ नेपालले आइपास नेपालको आर्थिक सहयोगमा जिल्लाका दुई स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको हो । शारदा नगरपालिकामा २५ थान अग्नी नियन्त्रण उपकरण (फायर एक्स्टिङ्गुशर) हस्तान्तरण गरिएको छ । यस्तै बागचौर नगरपालिकालाई १२ थान अग्नी नियन्त्रण उपकरण र २१ थान त्रिपाल प्रदान गरिएको हो ।
सामग्री ग्रहण गर्दै शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारीले विपद् व्यवस्थापनमा यस्ता सहयोगले स्थानीय सरकारलाई थप सजग र सक्षम बनाउने धारणा व्यक्त गर्नुभयो । ‘विपद्को समयमा तत्काल प्रयोगमा ल्याउन सकिने उपकरणले जनधनको क्षति न्यूनीकरणमा मद्दत पु¥याउँछ, यसले नगरपालिकाको पूर्वतयारीलाई मजबुत बनाएको छ, सुरक्षित मातृत्व संजाल महासंघ नेपाल र आइपास नेपाललाई धन्यवाद छ, यस्ता सामग्रीले नगरभित्रको जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने छ’ उहाँले भन्नुभयो ।
यस्तै सामग्री ग्रहण गर्दै बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतले विपद्का बेलामा तत्काल राहत पु¥याउन सक्ने सामग्रीहरू प्राप्त हुनु निकै महत्वपूर्ण रहेको बताउनुभएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा सुरक्षित मातृत्व संजालका कार्यक्रम अधिकृत आदर्श अधिकारी, सामाजिक परिचालक निर्मला खड्का र जानकी केसी लगाएतको सहभागिता रहेको थियो ।
यी सामग्रीले बाढी, पहिरो तथा आगलागी जस्ता प्राकृतिक विपद्हरूमा राहत तथा जोखिम न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैविच जिल्ला विपद् व्यवस्थापन समिति सल्यानलाई आगलागी नियन्त्रण तथा उद्धारका लागि फायर फाइटिङ सुट, फायर ¥याक, फायर स्वाटर, फायर बलांकेट लगायतका सामग्रीहरू पनि हस्तान्तरण गर्ने जनाइएको छ ।