कुलतको फन्दामा युवापुस्ता फस्दै गएको प्रति चिन्ता

सल्यान, २६ जेठ ।

सल्यानमा पछिल्लो समय कुलतको फन्दामा युवापुस्ता फस्दै गएको प्रति चिन्ता व्यक्त गरिएको छ । युवापुस्तामा लागुऔषध दुव्र्यसनको लत बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विद्यालय तथा समुदाय लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन अति आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सामाजिक विकास कार्यालय सल्यान, जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजनामा आइतबार जिल्लाको श्रीनगरमा सम्पन्न कार्यक्रमका सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारीले लागुऔषध दुव्र्यसनलाई ‘शारीरिक मात्र होइन, सामाजिक संक्रमण’ को रूपमा लिइनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘समाज परिवर्तनका खम्बा नै युवाहरू हुन्, यदि उनीहरू नै कुलतमा फसे भने त्यसको असर केवल व्यक्तिगत जीवनमा होइन, परिवार, समुदाय र समग्र समाजमा गहिरो रूपमा पर्छ, ‘ट्यापे’ ‘मन्द्रे’ जस्ता उपनामहरू यथार्थमा एउटा चेतावनी हुन्, जुन व्यक्तिमा मात्र होइन, समाजको अनुहारमै लाग्ने दाग हो ।’

उहाँले दुव्र्यसनमा फस्नेहरूको संख्या जिल्लामा पनि बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै समाजले सामूहिक रूपमा सजगता अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘कसैले गलत गर्दैछ वा गर्न लागेको जानकारी पाइएमा तुरुन्तै सम्बन्धित निकाय वा अगाडिका जिम्मेवार व्यक्तिलाई जानकारी दिऔं, हामी सबै सचेत र सजग बन्न जरुरी छ’ उहाँले थप्नुभयो ‘लागुऔषधले एक जनाको मात्रै होइन, सम्पूर्ण परिवार र समाजको भविष्यमा प्रतिकूल असर पु¥याउँछ, विद्यालयबाटै सही मार्गदर्शन पाएमा युवापुस्ता सही बाटोमा अघि बढ्न सक्छ, तपाईंहरूको निर्णयले नै तपाईंहरूको भविष्य बनाउँछ, साथीहरूको दबाबमा वा जिज्ञासावश लागुऔषध प्रयोग गर्नु घातक हुन्छ ।’

सल्यानका प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जिल्लामा पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढिरहेको तथ्याङ्कले देखाएको बताउनुभयो । ‘प्रहरी अनुसन्धान अनुसार दाङ, नेपालगञ्ज लगायतका क्षेत्रहरूबाट लागुऔषध सल्यानसम्म तस्करी भएर आइरहेको पाइन्छ, विद्यालय पढ्ने उमेरका युवाहरू समेत त्यसमा लिप्त हुन थालेका छन्, जुन निकै गम्भीर चिन्ताको विषय हो’ उहाँले बताउनुभयो । उहाँले सरोकारवाला निकायबीच समन्वय गरी सामाजिक पुनस्र्थापना, शिक्षामूलक हस्तक्षेप र अभिभावकीय जागरणका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने स्पष्ट पार्नुभयो ।

लागुऔषध दुव्र्यसनको समस्या युवापुस्तामा तीव्र रूपमा फैलँदै गएको सन्दर्भमा त्यसको रोकथाम र सचेतना अभिवृद्धिका लागि श्रीनगरमा विद्यालय तथा समुदायस्तरमा लक्षित विशेष शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । यसअघि जिल्लाको कपुरकोट र सल्लीवजारमा पनि सचेतीकरणका कार्यक्रम गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक केशर कुमार न्यौपाने र मनोसामाजिक परामर्शकर्ता मीना बुढाथोकीले लागु औषध, यसको प्रयोग, असर, स्वास्थ्यमा पर्ने हानी, शारिरीक तथा मानशिक रुपमा पार्ने नोक्सानी, समुदायमा पार्ने प्रभाव र यसको न्यूनिकरणका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

सामाजिक विकास कार्यालयका प्रमुख कृष्णप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी हरिप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, युवा, स्थानीय अगुवा तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस