सल्यान, २७ जेठ ।
सल्यान जिल्लाको शारदा नगरपालिका–९ स्थित नयाँ बस्ती सामुदायिक वन उपभोक्ता समितिले आर्थिक सशक्तीकरण तथा व्यावसायिक कृषिमा स्थानीयवासीलाई प्रोत्साहन गर्न बाख्रा वितरण गरिएको छ । यस समितिले नयाँ बस्तीमा रहेका आफ्ना सम्पूर्ण २३ घरधुरी उपभोक्तालाई एक–एक वटा बाख्रा वितरण गरेको हो । सामुदायिक वनमा सञ्चालित घुम्ती कोषको उपयोग गर्दै गरिएको यो पहलले गाउँमा वैकल्पिक आयआर्जनका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
वन समितिका अध्यक्ष कर्ण बहादुर थापाका अनुसार, बाख्रा खरिदका लागि प्रति घरधुरी १५ हजार रुपैयाँका दरले लगानी उपलब्ध गराइएको हो । त्यसमा उपभोक्ताले पाँच प्रतिशत योगदान गर्ने व्यवस्था मिलाइएको थियो । अध्यक्ष थापाले बताएअनुसार ‘हामीले प्रत्येक परिवारलाई १५ हजार रुपैयाँ उपलब्ध गराएका छौँ, यसमा प्रति बाख्रा १८ देखि २० हजार रुपैयाँसम्म लागत परेको छ, कुल ३ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ ।’
उहाँले आफ्नो वन क्षेत्रमा बाख्रापालनको राम्रो सम्भावना रहेको बताउनुभयो । ‘पर्याप्त चरिचरण क्षेत्र, वनको व्यवस्थापन र किसानको अनुभवलाई ध्यानमा राख्दै हामीले यो कार्यक्रम ल्याएका हौँ’ उहाँले भन्नुभयो । बाख्रापालनले ग्रामीण समुदायमा रोजगारी सिर्जना गर्नुका साथै दिगो आर्थिक विकासमा टेवा पु¥याउने विश्वास समितिले लिएको छ ।
साथै, वितरण गरिएका बाख्रा उपभोक्ताले बिक्री गर्न नपाइने नियम राखिएको छ, जसले दीर्घकालीन लाभ सुनिश्चित गर्ने समितिको उद्देश्य हो । बाख्रा वितरण कार्यक्रममा समितिका उपाध्यक्ष पूर्ण बहादुर थापा, सचिव गीता रेउले, सह–सचिव आइतु थापा, कोषाध्यक्ष गंगी थापा लगायत समितिका अन्य पदाधिकारी तथा उपभोक्ताहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सामुदायिक वनको घुम्ती कोषलाई यस्ता व्यावसायिक कार्यमा प्रयोग गर्नु सकारात्मक पहल भएको प्रतिक्रिया दिएका छन् । स्थानीयस्तरमा पहिलोपटक गरिएको यो प्रकारको पहलले अन्य सामुदायिक वनहरू र उपभोक्ता समूहहरूका लागि पनि उदाहरणीय अभ्यास बन्न सक्ने देखिएको छ ।