हजार दिने आमाहरुलाई पोषण पिठो !

सल्यान, २९ जेठ ।

कुपोषणको समस्या नेपालको दुर्गम तथा ग्रामीण भेगमा अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको छ । मातृ तथा शिशु मृत्यु दर अझै उच्च रहेको अवस्थामा, सल्यानको सिद्ध कुमाख गाउँपालिकाले ‘अध्यक्ष पोषण कार्यक्रम’ अन्तर्गत महत्वपूर्ण र अनुकरणीय कदम चालेको छ । गाउँपालिकाले हजार दिने आमाहरूलाई लक्षित गर्दै ६ सय ५९ जनालाई पोसिलो पिठो वितरण गरेको छ । कार्यक्रमअन्तर्गत आमाहरूलाई आवश्यक पोषण तत्वको सुनिश्चितता गर्ने उद्देश्य राखिएको छ ।

गाउँपालिका अध्यक्ष भरत गिरीले यो कार्यक्रम मातृ र शिशु स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउने लक्ष्यका साथ अगाडि बढाइएको बताउनुभयो । गाउँपालिकाले वडा नं. १ मा १ सय ७८ जना, वडा नं. २ मा १ सय ११ जना, वडा नं. ३ मा १ सय २६ जना, वडा नं. ४ मा ८८ जना र वडा नं. ५ मा १ सय ५६ जना गरी कुल ६ सय ५९ जना हजार दिने आमालाई पोषिलो पिठो वितरण गरेको हो ।

‘हजार दिने’ अवधिले गर्भावस्थाको सुरुवातदेखि शिशुको दुई वर्षको उमेरसम्मको समयलाई जनाउँछ, जुन शारीरिक र मानसिक विकासको दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । यस अवधिमा आमालाई पर्याप्त पोषण नपुगेमा त्यसको प्रत्यक्ष असर बच्चाको भविष्यमा पर्न सक्छ । अध्यक्ष गिरीले भन्नुभयो ‘हामीले कुपोषणको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिएका छौं, प्राथमिकतामा राखिएका लक्षित समूह हजार दिने आमाहरूलाई पोषणयुक्त खाद्यपदार्थ उपलब्ध गराएर स्वास्थ्य सुधार गर्ने हाम्रो प्रतिवद्धता छ ।’

गाउँपालिकाले वितरण गरेको पिठोमा आवश्यक पोषण तत्व, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, आयरन, जिंक, फोलिक एसिड जस्ता सूक्ष्म पोषकतत्व मिसाइएको छ । यो पिठो सन्तुलित आहारको पूरकको रूपमा प्रयोग गर्न सकिने बताइएको छ । ‘पिठो बनाउने क्रममा स्थानीय स्तरमै उपलब्ध खाद्य वस्तुहरू प्रयोग गरिएकाले यसको गुणस्तर र उपलब्धता दुबैमा सहजता छ’ उहाँले थप्नुभयो ।

गाउँपालिकाका अनुसार, कुपोषणको समस्या खास गरी खानेकुरा नपाएर भन्दा पनि पोषणबारे जानकारीको अभावका कारण गम्भीर बन्न पुगेको हो । आमा–बुबासँग खाना त हुन्छ तर सन्तुलित आहार खुवाउने ज्ञान हुँदैन, त्यसैले, यस्तो कार्यक्रम मात्र होइन, पोषण सम्बन्धी व्यवहार परिवर्तन कार्यक्रम पनि आवश्यक छ । स्थानीय सरकारहरूबाट यस्ता कार्यक्रमहरू सञ्चालन हुनु सकारात्मक संकेत हो । यसले दीर्घकालीन रूपमा समग्र पोषण सुधारमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले आगामी दिनहरूमा पोषण सुधारसँग सम्बन्धित कार्यक्रमहरूलाई अझ प्रभावकारी र सशक्त बनाउने योजना बनाएको छ । विद्यालयस्तरमै पोषण शिक्षाको कार्यक्रम ल्याउने, स्थानीय कृषकसँग सहकार्य गरेर पोषणयुक्त बाली प्रवद्र्धन गर्ने र समुदायलाई पोषण सम्बन्धी नियमित प्रशिक्षण दिने रणनीति निर्माण भइरहेको छ ।

यस कार्यक्रमबाट लाभान्वित भएका आमाहरू सन्तुष्ट देखिन्छन् । सिद्धकुमाख गाउँपालिका–१ काखखोला निवासी ललिता रेउले पिठो पाएपछि आफू निकै खुसी भएको बताउनुभयो । ‘गर्भवती महिलालाई यस्ता पोषणयुक्त सामग्रीको खाँचो पर्छ, यो पिठो पाएपछि खाना बनाउन सजिलो भयो, शरीरमा तागत पनि आएको महसुस हुन्छ, सुत्केरी आमा र बच्चाका लागि निकै उपयोगी लाग्यो, यो निरन्तर पाइ राखे हुन्थ्यो’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस